चिलिमे सुरुङमा थुनिएका ६ जनाको जीवनको सम्भावना अझै जीवित छ : इन्जिनियर न्यौपाने

by समतल अनलाइन
19Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद तथा इन्जिनियर श्रीराम न्यौपानेले भोटेकोसी बाढीपछि चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र थुनिएका ६ जना अझै जीवित हुनसक्ने सम्भावना रहेको बताएका छन्। उनले उद्धारको आशा नमार्न र प्रयासलाई अन्तिम क्षणसम्म निरन्तरता दिन आग्रह गरेका छन्।

न्यौपानेले बिहीबार बिहान सामाजिक सञ्जालमार्फत सुरुङभित्र जीवनको सम्भावना अझै रहेको भन्दै उद्धार कार्यलाई तीव्र बनाउनुपर्ने बताएका हुन्।

उनका अनुसार अस्थायी सडकलाई सुरुङको मुखसम्म पुर्‍याएर एक्स्काभेटर र ह्विल लोडरमार्फत २४ घण्टा लेदो बाहिर निकाल्ने योजना रहे पनि विद्युत् जडानमा भएको ढिलाइ, पहिरो, दलदल तथा ब्लास्टिङका कारण सडक विस्तारको काम प्रभावित भएको थियो। पछिल्लो समय थप दुईवटा एक्स्काभेटर साइटमा पुगेको र सडक सुरुङको मुखबाट करिब ४० मिटर दूरीमा पुगेकाले उद्धार कार्यले गति लिने उनको विश्वास छ।

नेपाली सेना र भारतीय सेनाको संयुक्त टोलीले समेत म्यानुअल रूपमा लेदो हटाउने, आवश्यक ब्लास्टिङ गर्ने तथा सडक विस्तारको काम जारी राखेको न्यौपानेले बताएका छन्।

धुन्चेमा भएको छलफलमा सुरुङबाहिर सडक निर्माणका क्रममा ब्लास्टिङ गर्दा जोखिम बढ्न सक्ने तथा सुरुङभित्र ठूलो परिमाणमा पानी जम्मा भएर दबाबमा रहेको हुनसक्ने विषयमा चिन्ता व्यक्त गरिएको उनले उल्लेख गरेका छन्। तर आफ्नो १२ वर्षको ब्लास्टिङसम्बन्धी अनुभवका आधारमा आवश्यक सावधानी अपनाएर गरिएको ‘कन्ट्रोल्ड ब्लास्टिङ’ ले उद्धार कार्यलाई झन् तीव्र बनाउन सक्ने उनको तर्क छ।

सुरुङभित्र प्रतिघण्टा होइन, प्रतिसेकेन्ड करिब ९ लिटर पानी चुहावट भइरहेको आधारमा २४ हजार घनमिटर पानी दबाबमा जम्मा भएको हुनसक्ने प्राविधिक तर्कप्रति आफू सहमत नरहेको न्यौपानेले बताएका छन्।

उनका अनुसार बाढीका क्रममा तीव्र वेगमा सुरुङभित्र पसेको लेदो, माटो, ढुंगा, गिट्टी र बालुवाले पावर हाउसतर्फको हावालाई माथिल्लो भागमा धकेलेको हुनसक्छ। डिजाइनअनुसार पावर हाउसमा पानी तथा लेदोको सतह कायम भएपछि माथिल्लो भागमा केही खाली स्थान रहन सक्ने भएकाले त्यहाँ मानिसहरूका लागि सुरक्षित ठाउँ हुनसक्ने उनको विश्लेषण छ।

न्यौपानेले सुरुङमा भइरहेको पानी चुहावटका सम्बन्धमा विभिन्न सम्भावना रहेको बताएका छन्। लेदोको दबाबका कारण पानी आउने बाटो बन्द भएर पानी फर्किएको, सुरुङभित्र बाढीले बगाएर ल्याएका सामग्रीका कारण बनेका खाली ठाउँ तथा मार्गबाट पानी टेलरेस टनेलतर्फ गएको वा पानी कुनै खाली स्थानमा जम्मा भएको हुनसक्ने उनको तर्क छ।

टेलरेस टनेलको आउटलेटबाट निरन्तर सफा पानी बाहिर निस्किरहेको देखिनुले समेत पानीको निकास भइरहेको सम्भावनालाई बल पुग्ने उनले बताएका छन्।

उद्धारका क्रममा लेदो पन्छाउने कामलाई निरन्तरता दिने र आवश्यक ब्लास्टिङसमेत अघि बढाउने विषयमा सुरक्षा निकाय, प्राविधिक तथा सम्बन्धित अधिकारीबीच सहमति बनेको न्यौपानेले जानकारी दिएका छन्। उनका अनुसार त्यसपछि नेपाल विद्युत् प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङसहित विज्ञ टोलीले समेत साइटमा आवश्यक सुझाव दिएको थियो।

न्यौपानेले पावर हाउसको माथिल्लो भाग मानिसका लागि सम्भावित सुरक्षित स्थान हुनसक्ने दाबी गरेका छन्। त्यहाँ ९२ वटा ठूला ब्याट्री, भान्छाका सामग्री, चामल, दाल, चिनी, चियापत्ती तथा करिब एक हजार लिटर क्षमताको खानेपानी ट्यांकी रहेको जानकारी आफूले पाएको उनले बताएका छन्।

बाढीका कारण माथिल्लो भागमा हावा तथा अक्सिजनको अवस्था कायम रहेको भए सुरुङभित्र रहेका ६ जना लामो समयसम्म जीवित रहन सक्ने सम्भावना रहेको उनको भनाइ छ। उनले आफ्नो प्राविधिक विश्लेषणका आधारमा उनीहरू ३ देखि ४ हप्तासम्म पनि जीवित रहन सक्ने सम्भावनालाई नकार्न नहुने बताएका छन्। यद्यपि यसको वास्तविक पुष्टि उद्धार कार्य सम्पन्न भएपछि मात्र हुने उनले स्पष्ट पारेका छन्।

‘आशा नमारौँ, उद्धारको प्रयास नरोकौँ’ भन्दै न्यौपानेले सुरुङभित्र जीवनको सम्भावना रहेसम्म प्राविधिक विवेकका साथ उद्धार कार्यलाई अन्तिम क्षणसम्म जारी राख्न आग्रह गरेका छन्।

You may also like