काठमाडौंमा ग्यास सिलिन्डर साटासाट गर्न सकिने, निगमलाई सरकारको निर्देशन

by समतल अनलाइन
31Shares

काठमाडौं । काठमाडौं उपत्यकामा एलपी ग्यासको आपूर्ति सहज बनाउन सरकारले एउटा कम्पनीको सिलिन्डर अर्को कम्पनीसँग साटासाट गरेर ग्यास उपलब्ध गराउने व्यवस्था गर्न नेपाल आयल निगमलाई निर्देशन दिएको छ।

उद्योगमन्त्री गौरीकुमार यादवले उपत्यकाभित्र मात्र लागू हुने गरी उपभोक्ताले आफूले प्रयोग गर्दै आएको कम्पनीको सिलिन्डर तत्काल नपाए अर्को कम्पनीको सिलिन्डर उही मूल्यमा साटेर ग्यास लिन सक्ने व्यवस्था मिलाउन निगमलाई निर्देशन दिएकी हुन्।

भदौ १० गतेको भोटेकोसी बाढीका कारण विभिन्न स्थानमा सडक तथा यातायात पूर्वाधारमा क्षति पुगेपछि काठमाडौं उपत्यकाको आपूर्ति प्रणाली प्रभावित भएको छ। त्यसको प्रत्यक्ष असर एलपी ग्यासको वितरणमा पर्दा उपत्यकामा ग्यासको अभाव देखिएको हो।

ग्यासको अभावका कारण उपभोक्ताले लामो समयसम्म सिलिन्डर नपाउने अवस्था सिर्जना भएपछि सरकारले तत्काल राहतस्वरूप सिलिन्डर साटासाटको व्यवस्था लागू गर्न लागेको हो।

मन्त्रालयका अनुसार उपभोक्ताले नियमित रूपमा प्रयोग गर्दै आएको कम्पनीको सिलिन्डर उपलब्ध नभएको अवस्थामा अन्य कम्पनीको सिलिन्डर प्रयोग गरेर पनि ग्यास प्राप्त गर्न सक्नेछन्। यस्तो अवस्थामा सिलिन्डर साटासाट गर्दा उपभोक्ताले अतिरिक्त मूल्य तिर्नुपर्ने छैन।

सरकारले उक्त व्यवस्था काठमाडौं उपत्यकाभित्र मात्र लागू हुने जनाएको छ।

You may also like