म्याग्दी । ५३ दशमलव ५ मेगावाट क्षमताको अपर म्याग्दी–१ जलविद्युत् आयोजनाको अडिटदेखि बाँधतर्फ निर्माण भइरहेको सुरुङ ‘ब्रेक थ्रु’ भएको छ।
म्याग्दी हाइड्रोपावर लिमिटेड प्रवर्द्धक रहेको आयोजनाअन्तर्गत धवलागिरि गाउँपालिका–४ छहरीस्थित अडिटदेखि खाम्लामा निर्माणाधीन बाँधतर्फ जाने २ हजार ५०६ दशमलव ३९ मिटर सुरुङ जोडिएको हो।
आयोजना प्रमुख ज्योतिकुमार केसीका अनुसार छहरी अडिटदेखि खाम्लास्थित बाँधसम्म निर्माण हुने ३ हजार २८३ दशमलव ३२ मिटर सुरुङमध्ये हालसम्म १ हजार ९७३ मिटर निर्माण सम्पन्न भएको छ। बाँकी सुरुङ पनि केही महिनाभित्र पूरा गर्ने लक्ष्यसहित काम भइरहेको उनले बताए।
आयोजनाको हालसम्म ५६ प्रतिशत भौतिक प्रगति भएको छ। निर्माण कार्यलाई तीव्रता दिइएको र आगामी एक वर्षभित्र आयोजना सम्पन्न गर्ने लक्ष्य रहेको आयोजना प्रमुख केसीले जानकारी दिए।
सिभिल निर्माणको जिम्मा पाएको लुना बिल्डर्स एन्ड कन्ट्रयाक्टरले २०८० चैत १९ गते सम्झौता गरेको थियो भने २०८१ वैशाख २८ गते कार्यक्षेत्रमा परिचालित भएको थियो। कम्पनीले २०८१ भदौदेखि मुख्य सुरुङ निर्माण सुरु गरेको हो।
हाल बाँध, सुरुङ तथा विद्युत्गृह निर्माणसँगै हाइड्रो र इलेक्ट्रोमेकानिकलतर्फका कामसमेत तीव्र गतिमा भइरहेको छ। यद्यपि बर्खायाममा बेनी–दरबाङ सडकअन्तर्गत फापरखेत पहिरो, दुखुखोला सडक पुलमा देखिएको जोखिम तथा शिवरात्रिखोला सडक पुल निर्माणमा भएको ढिलाइले आयोजनाको निर्माणमा केही असर परेको छ।
आयोजना निर्माणका लागि सानिमा बैंकको नेतृत्वमा छ वटा बैंकको ऋण, प्रवर्द्धक कम्पनी तथा सर्वसाधारणको शेयरमार्फत ११ अर्ब २३ करोड २७ लाख ६ हजार रुपैयाँ लगानी जुटाइनेछ। आयोजनाको विद्युत्गृह मालिका गाउँपालिका–७ भारवाङमा निर्माण हुँदैछ।
भारवाङदेखि करिब १.५ किलोमिटर १३२ केभी प्रसारण लाइन निर्माण गरी नेपाल विद्युत् प्राधिकरणले मालिका गाउँपालिका–७ डाँडाखेतमा निर्माण गरिरहेको १३२ केभी सबस्टेसनमार्फत उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ। आयोजनाबाट वार्षिक औसत ३१५ दशमलव ०१ गिगावाट घण्टा विद्युत् उत्पादन हुने अनुमान गरिएको छ।
रन अफ द रिभर प्रकृतिको आयोजनामा आउटलेटदेखि विद्युत्गृहसम्मको उचाइ १९६ मिटर रहेको छ। आउटलेटबाट विद्युत्गृहसम्म पानी पुर्याउन ६९२ मिटर लामो पेनस्टक पाइप जडान गरिनेछ।
ऊर्जा इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट सोलुसन प्रालि आयोजनाको परामर्शदाता रहेको छ। मेकानिकल तथा इलेक्ट्रोमेकानिकल ठेकेदार छनोटको प्रक्रिया अघि बढाइएको छ। अपर म्याग्दी–१ ऊर्जा डेभलपर्स प्रालिसँग आबद्ध प्रवर्द्धक कम्पनीमार्फत अघि बढाइएको आयोजना हो।

