प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ११ अर्ब ९५ करोडभन्दा बढी मौज्दात

by समतल अनलाइन
27Shares

काठमाडौँ । प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा हालसम्म ११ अर्ब ९५ करोड १७ लाख रुपैयाँ मौज्दात रहेको छ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार साँझ ५ बजेसम्म कोषका नौवटा नेपाली रुपैयाँ खातामा ८ अर्ब ७६ करोड ६९ लाख रुपैयाँ मौज्दात रहेको छ। त्यस्तै, दुईवटा अमेरिकी डलर खातामा २ करोड ११ लाख ८ हजार ४७१ अमेरिकी डलर रहेको छ।

अमेरिकी डलरलाई प्रतिडलर १५० रुपैयाँ ८८ पैसाका दरले नेपाली रुपैयाँमा रूपान्तरण गर्दा कोषमा रहेको कुल रकम ११ अर्ब ९५ करोड १७ लाख रुपैयाँ पुगेको हो।

यसैबीच, रसुवा–भोटेकोशी क्षेत्रमा आएको बाढीपछि राहत तथा उद्धारका लागि कोषमा उल्लेख्य रकम संकलन भएको छ। उक्त बाढीपछि कोषमा ७ अर्ब ६८ करोड ४४ लाख रुपैयाँ तथा २ करोड ५ लाख २२ हजार ४२३ अमेरिकी डलर सहयोग प्राप्त भएको जनाइएको छ।

उक्त रकम विपद् आउनुअघि कोषमा रहेको मौज्दातभन्दा अतिरिक्त रूपमा प्राप्त भएको रकम हो। विपद्अघि कोषमा २ अर्ब ८ करोड २४ लाख रुपैयाँ मौज्दात रहेको थियो।

त्यस्तै, भदौ २३ गते मात्रै प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ३० करोड ६२ लाख रुपैयाँ र १ लाख १२ हजार ३२ अमेरिकी डलर सहयोग प्राप्त भएको अर्थ मन्त्रालयले जनाएको छ।

विपद्पछि राहत, उद्धार तथा पुनःस्थापनाका लागि विभिन्न व्यक्ति, संस्था तथा निकायबाट कोषमा सहयोग रकम जम्मा हुँदै आएको छ। संकलित रकम विपद्बाट प्रभावित नागरिकको राहत तथा आवश्यक व्यवस्थापनमा प्रयोग गरिनेछ।

You may also like