नयाँ जिम्मेवारी सम्हालेको चार दिनमै भोटेकोशी बाढीमा बेपत्ता चिनियाँ युवती, सरकारी जागिरको पहिलो तलब नै पेन्सन बन्यो

by समतल अनलाइन
46Shares

काठमाडौं । चीन–नेपाल सीमास्थित भोटेकोशी नदीमा गत भदौ १० गते आएको विनाशकारी बाढीले दुवै देशमा ठूलो मानवीय क्षति पुर्‍याएको छ। बाढी र पहिरोमा परी नेपाल र चीनतर्फ गरी ज्यान गुमाउनेको संख्या १३ सय नाघेको छ भने अझै ठूलो संख्यामा मानिस बेपत्ता छन्।

नेपालतर्फ मात्रै १ हजार ३४४ जनाको मृत्यु भएको विवरण सार्वजनिक भएको छ। बेपत्ताको संख्याबारे भने सरकारी निकायहरूकै तथ्यांक फरक–फरक देखिएको छ। केही सरकारी निकायले करिब ३१ सय बेपत्ता रहेको बताएका छन् भने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सञ्चालन गरेको खोजबिनसम्बन्धी वेबसाइटमा बेपत्ताको संख्या १५ हजारभन्दा बढी देखिएको छ।

यस विपद्मा सर्वसाधारणसँगै दुवैतर्फका सुरक्षाकर्मी, भन्सार तथा अध्यागमनका कर्मचारीसमेत प्रभावित भएका छन्। चीनतर्फ पनि ठूलो संख्यामा सरकारी कर्मचारी तथा सुरक्षाकर्मीले ज्यान गुमाएका वा बेपत्ता भएका छन्।

यही घटनामा २४ वर्षीया चिनियाँ युवती ली लेयाङको कथा अहिले भावनात्मक चर्चाको विषय बनेको छ। नयाँ जिम्मेवारी सम्हालेको चार दिनमै उनी भोटेकोशी बाढीमा बेपत्ता भएकी हुन्।

लीले अगस्ट २१ देखि तिब्बतस्थित ग्यिरोङ अर्थात् केरुङ बन्दरगाहको भन्सार कार्यालयमा वनस्पति क्वारेन्टिन अधिकृतका रूपमा काम सुरु गरेकी थिइन्। तर काम सुरु गरेको चार दिनमै, अगस्ट २६ अर्थात् भदौ १० गते, कार्यालयमा कार्यरत रहेकै अवस्थामा नेपालतर्फबाट आएको पहिरो र त्यसपछि आएको बाढीको चपेटामा परिन्।

चिनियाँ सञ्चारमाध्यमका अनुसार पहिरो र बाढीले केरुङ बन्दरगाह क्षेत्रमा ठूलो क्षति पुर्‍याएको थियो। करिब सात मिनेटमै २२ किलोमिटर दूरी पार गर्दै आएको पहिरो र बाढीले भन्सार कार्यालयसहित २७ वटा संरचना ध्वस्त पारेको बताइएको छ। घटनापछि भन्सार कार्यालयको स्टिल फ्रेम मात्रै बाँकी रहेको विवरण सार्वजनिक भएको छ।

चीनको तिब्बत क्षेत्रमा हालसम्म ३१ जनाको मृत्यु पुष्टि भएको छ भने ५४१ जना अझै बेपत्ता रहेको बताइएको छ। ली पनि बेपत्ताको यही सूचीमा छिन्। उनको शव अहिलेसम्म फेला परेको छैन।

उनको सम्मानमा केरुङ बन्दरगाह भन्सार कार्यालयले सेप्टेम्बर १ मा श्रद्धाञ्जली कार्यक्रमसमेत आयोजना गरेको थियो।

कठिन संघर्षपछि पाएको सरकारी जागिर

ली ग्रामीण परिवारमा जन्मिएकी थिइन्। पूर्वी चीनको आन्हुई प्रान्तकी उनले आन्हुई युनिभर्सिटी अफ एप्लाइड टेक्नोलोजीबाट एसोसिएट डिग्री पूरा गरेकी थिइन्। त्यसपछि आन्हुई एग्रिकल्चरल युनिभर्सिटीबाट स्नातक तह पूरा गरिन्।

शैक्षिक यात्रालाई अघि बढाउँदै उनले बेइजिङस्थित चाइना एग्रिकल्चरल युनिभर्सिटीमा स्नातकोत्तर तहको प्रवेश परीक्षा उत्तीर्ण गरिन्। केही महिनाअघि मात्रै स्रोत उपयोग तथा वनस्पति संरक्षण विषयमा स्नातकोत्तर तह पूरा गरेकी थिइन्।

चीनमा सरकारी जागिरलाई स्थिर र सुरक्षित रोजगारीका रूपमा लिइन्छ। लीले पनि भन्सार सेवामा प्रवेशका लागि भएको प्रतिस्पर्धात्मक परीक्षामा करिब २ हजार आवेदकलाई पछि पार्दै पहिलो स्थान हासिल गरेकी थिइन्।

नयाँ कर्मचारीका रूपमा परिचय सार्वजनिक गर्दा उनले आफूलाई मिहिनेती, साहसी र स्थिर मनोभाव भएकी व्यक्तिका रूपमा प्रस्तुत गरेकी थिइन्। उनलाई फूल रोप्ने, पढ्ने तथा बिरालो र कुकुरसँग समय बिताउने रुचि थियो।

भन्सार सेवामा प्रवेश गरेपछि उनले आफ्नो जिम्मेवारीप्रति प्रतिबद्धता जनाउँदै देशको सीमामा जैविक सुरक्षाको जिम्मेवारी इमानदारीपूर्वक पूरा गर्ने इच्छा व्यक्त गरेकी थिइन्।

‘अर्को वसन्त चाडमा आमाबुबालाई बेइजिङ लैजाने थिइन्’

लीकी कान्छी बहिनीले सामाजिक सञ्जालमा दिदीलाई सम्झँदै भावुक सन्देश लेखेकी छन्।

उनका अनुसार लीले अर्को वर्षको वसन्त चाडको बिदामा आमाबुबालाई बेइजिङ घुमाउन लैजाने योजना बनाएकी थिइन्। तर सरकारी सेवामा प्रवेश गरेको चार दिनमै उनको जीवन नै अनपेक्षित रूपमा रोकियो।

बहिनीले दिदीलाई सम्झँदै परिवारले उनलाई अझै घर फर्किने आशामा कुरिरहेको बताएकी छन्।

सरकारी जागिरका लागि गरेको लामो संघर्ष र सफलता पाएपछि जिम्मेवारी सम्हालेको केही दिनमै भएको उनको बेपत्ताले परिवारलाई गहिरो पीडामा पारेको छ।

चिनियाँ सामाजिक सञ्जालमा पनि लीको कथाले भावुक प्रतिक्रिया जन्माएको छ। धेरैले उनको छोटो सरकारी सेवायात्राप्रति दुःख व्यक्त गर्दै विपद्ले एउटा परिवारको मात्रै नभई एउटा युवतीको भविष्यका सबै सपना खोसेको टिप्पणी गरेका छन्।

लीले कठिन प्रतिस्पर्धाबाट हासिल गरेको सरकारी जागिरमा काम गर्ने अवसर चार दिन मात्रै पाइन्। परिवारसँग बिताउने, आमाबुबालाई बेइजिङ घुमाउने र आफ्नो करियर अघि बढाउने उनका योजना अहिले अधुरै छन्।

भोटेकोशी बाढीले नेपाल र चीन दुवैतर्फ ठूलो जनधनको क्षति गराएको छ। अझै पनि बेपत्ताको खोजी जारी रहेकाले लीसहित बेपत्ता भएकाहरूको अवस्था र उनीहरूको परिवारको प्रतीक्षा अन्त्य हुन सकेको छैन।

You may also like