भोटेकोशी बाढीपीडितका लागि नेपाल ज्योतिष परिषद्को २ लाख २३ हजार १४३ सहयोग

by समतल अनलाइन
33Shares

काठमाडौं । रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारमा सहयोग पुर्‍याउने उद्देश्यले नेपाल ज्योतिष परिषद्ले २ लाख २३ हजार १४३ रुपैयाँ प्रदान गरेको छ ।

परिषद्का केन्द्रीय सचिव शिवलाल पौडेलले बुधबार ग्लोबल आइएमई बैंकको डिल्लीबजार शाखामा पुगेर उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्नुभएको हो ।

प्राकृतिक विपद्का कारण प्रभावित नागरिकलाई सहयोग गर्ने उद्देश्यले परिषद्ले सामाजिक उत्तरदायित्वअन्तर्गत राहत रकम उपलब्ध गराएको जनाएको छ । परिषद्का केन्द्रीय अध्यक्ष केशवप्रसाद धितालका अनुसार संस्थाले यसअघि पनि प्राकृतिक विपद्, महामारी तथा विभिन्न सामाजिक सेवाका क्षेत्रमा सहयोग गर्दै आएको छ ।

भदौ १० गते बुधबार भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लामा ठूलो जनधनको क्षति पुर्‍याएको छ । बाढीबाट प्रभावित नागरिकको खोजी, उद्धार तथा राहत व्यवस्थापनका लागि सरकारले विभिन्न क्षेत्र तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय समुदायसँग सहयोगको आह्वान गरेको छ ।

परिषद्का कोषाध्यक्ष पवित्रा श्रेष्ठका अनुसार केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यका साथै इच्छुक प्रदेश र जिल्ला समितिबाट संकलन भएको रकमलाई एकीकृत गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो ।

सरकारले सहयोगका लागि अपिल गरेपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा निजी क्षेत्र, व्यवसायी, विभिन्न संघसंस्था तथा सर्वसाधारणबाट सहयोग रकम जुट्ने क्रम बढेको छ । नेपाल ज्योतिष परिषद्ले पनि विपद्को समयमा प्रभावित नागरिकको राहतमा आफ्नोतर्फबाट योगदान गरेको जनाएको छ ।

You may also like