बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका–४ निवासी सरस्वती खनाल रायमाझीले यामाहाको स्कुटर खरिद गर्दा १० लाख रुपैयाँ नगद पुरस्कार जितेकी छन्। यामाहा नेपालले चाडपर्वलाई लक्षित गरी सञ्चालन गरेको ‘चंगा चेट्, जितको नयाँ अपग्रेड’ नामक प्रवर्द्धनात्मक अभियानमा उनी बम्पर पुरस्कार विजेता बनेकी हुन्।
रायमाझीले बुटवलको कालिकानगरस्थित बुटवल बाइकर्स प्रालिबाट यामाहा रे–जेडआर १२५ एफआई स्ट्रिट र्याली हाइब्रिड स्कुटर खरिद गरेकी थिइन्। स्कुटर खरिदपछि अभियानमा सहभागी भएकी उनले भाग्यशाली उपहारस्वरूप १० लाख रुपैयाँ नगद प्राप्त गर्न सफल भएकी हुन्।
बम्पर पुरस्कार जितेपछि खुसी व्यक्त गर्दै रायमाझीले स्कुटर खरिद गर्दाकै उत्साहलाई नगद पुरस्कारले झनै विशेष बनाएको बताइन्। यति ठूलो रकम पुरस्कारमा प्राप्त हुन्छ भन्ने आफूले कल्पनासमेत नगरेको उल्लेख गर्दै उनले यामाहा नेपालप्रति धन्यवाद व्यक्त गरिन्।
बुटवल बाइकर्स प्रालिका अध्यक्ष पुरन अधिकारीले ग्राहकलाई गुणस्तरीय सवारीसाधन उपलब्ध गराउनुका साथै विभिन्न उपहार तथा पुरस्कारमार्फत थप खुसी बाँड्ने यामाहाको अभियानले ग्राहकसँगको सम्बन्ध र विश्वास बलियो बनाएको बताए। बुटवलबाटै स्कुटर खरिद गर्ने ग्राहकले १० लाख रुपैयाँको पुरस्कार जित्नु स्थानीय व्यवसायका लागि पनि गौरव र खुसीको विषय भएको उनको भनाइ छ।
त्यसैगरी, बुटवल बाइकर्स प्रालिका रिजनल म्यानेजर विवेक सिंघालीले चाडपर्वको अवसरमा ग्राहकलाई सवारीसाधन खरिद गर्न थप आकर्षित र उत्साहित बनाउने उद्देश्यले यामाहाले उक्त अभियान सञ्चालन गरेको जानकारी दिए। उनका अनुसार यामाहाका मोटरसाइकल तथा स्कुटर खरिद गर्ने ग्राहकले उपलब्ध क्यूआर कोड स्क्यान गरेर आफ्नो विवरण दर्ता गराएपछि पुरस्कार योजनामा सहभागी हुन सक्छन्।
अभियोजनाअन्तर्गत ग्राहकले एक लाख रुपैयाँसम्मका नगद पुरस्कारका साथै प्रत्येक साता विभिन्न अत्याधुनिक ग्याजेट जित्ने अवसर पाउनेछन्। खरिद गरिएको सवारीसाधनको प्रमाणीकरणपछि १० लाख रुपैयाँसम्मको नगद पुरस्कार जित्ने अवसरसमेत उपलब्ध रहेको कम्पनीले जनाएको छ। यसका अतिरिक्त अभियानको ग्रान्ड प्राइजका रूपमा एक जना भाग्यशाली विजेताले नयाँ यामाहा आर१५ मोटरसाइकल प्राप्त गर्नेछन्।
यामाहा नेपालले यस अभियानसँगै ग्राहकका लागि पुरानो सवारीसाधन साट्न सकिने सुविधा, एमएडब्लू हायर पर्चेजमार्फत सहज फाइनान्सिङ तथा ‘लैजाऊ घर, नागरिकताको भरमा’ योजना पनि अघि सारेको छ। कम्पनीका अनुसार यी सुविधामा यामाहाका विभिन्न मोडलका मोटरसाइकल तथा स्कुटर समावेश गरिएका छन्।


