विपद् उद्धारमा चीनको साथ: नेपाललाई पठाइएको सहायता सामग्रीमा अत्याधुनिक ड्रोन

by समतल अनलाइन
25Shares

काठमाडौँ । चीनले नेपालमा बाढीपहिरो तथा अन्य विपद्का घटनामा उद्धार र राहत कार्यलाई प्रभावकारी बनाउन पठाएको दोस्रो चरणको मानवीय सहायता सामग्रीमा अत्याधुनिक ड्रोनलाई पनि प्राथमिकताका साथ समावेश गरेको छ।

सेप्टेम्बर १ मा चिनियाँ जनमुक्ति सेना (पीएलए) वायुसेनाको वाई–२० विमानमार्फत काठमाडौँ ल्याइएको सहायता सामग्रीमा डीएनए परीक्षण उपकरण तथा रसायन, पानी शुद्धीकरण प्रणाली, प्रकाश उपकरणसँगै विभिन्न प्रकारका ड्रोन रहेका छन्।

चिनियाँ विज्ञका अनुसार नेपाललाई उपलब्ध गराइएका ड्रोनले विपद् निगरानी, खोज तथा उद्धार, राहत सामग्री ढुवानी, नक्सांकन र थ्रीडी मोडल निर्माण तथा अनुगमन गर्न सक्नेछन्। विशेषगरी पहाडी क्षेत्रमा सडक तथा सञ्चार सम्पर्क अवरुद्ध हुँदा ड्रोनले उद्धार र राहत कार्यलाई तीव्र बनाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

स्रोतका अनुसार सहायता सामग्रीमा समावेश एफसी–१०० मध्यम आकारको मल्टिरोटर ड्रोनले सगरमाथाको दक्षिणी ढलानमा समेत सामग्री ढुवानीको काम गरिसकेको छ। उच्च उचाइ र कठिन भौगोलिक अवस्थामासमेत काम गर्न सक्ने क्षमता यसले प्रदर्शन गरेको बताइएको छ।

नेपालमा अगस्ट २६ मा गएको पहिरोपछि प्रभावित क्षेत्रमा परम्परागत हवाई तस्बिरबाट मात्रै क्षतिको वास्तविक अवस्था मूल्याङ्कन गर्न कठिन भएको विज्ञहरूले बताएका छन्। ड्रोनमार्फत विभिन्न कोणबाट तस्बिर तथा तथ्याङ्क सङ्कलन गरी प्रभावित क्षेत्रको थ्रीडी मोडल तयार गर्न सकिन्छ। यसबाट पहिरोको क्षेत्रफल, दूरी, अवरोध तथा पानी जमेको क्षेत्रको आकार मापन गर्न तथा पटक–पटकको उडानमार्फत विपद्को अवस्था कसरी परिवर्तन भइरहेको छ भन्ने निगरानी गर्न सकिन्छ।

चीनको सिगात्से क्षेत्रअन्तर्गत केरुङ बन्दरगाहमा भएको विपद् उद्धारका क्रममा पनि यस्ता ड्रोन प्रयोग गरिएको उदाहरण चिनियाँ सञ्चारमाध्यमले दिएका छन्। सडक अवरुद्ध भएर बाक्लो हिलो जमेको अवस्थामा ड्रोनमार्फत खाना, पाल र जेनेरेटरलगायतका राहत सामग्री अग्रपङ्क्तिमा पुर्‍याइएको थियो।

एक घटनामा तीव्र नदीको बहावका कारण डुङ्गाबाट उद्धार सम्भव नभएपछि ड्रोनको सहयोगमा एक उद्धारकर्मीलाई करिब १० मिटर चौडा नदी पार गराई डोरीको पुल निर्माण गर्न सहयोग गरिएको थियो। चार घण्टा पैदल हिँड्नुपर्ने दूरी ड्रोनको सहयोगमा करिब एक मिनेटमै पार गरिएको जनाइएको छ।

यद्यपि, नेपालको कठिन पहाडी भूगोलमा ड्रोन सञ्चालनमा चुनौतीसमेत छन्। गहिरा खोँच र अग्ला पहाडका कारण सञ्चार सङ्केत अवरुद्ध हुन सक्ने तथा वर्षा, तीव्र हावा र रातको कम दृश्यताले उडानमा जोखिम बढाउन सक्ने विज्ञहरूको भनाइ छ। केही क्षेत्रमा हावाको गति १५ मिटर प्रतिसेकेन्डसम्म पुग्न सक्ने बताइएको छ।

यी चुनौतीलाई ध्यानमा राख्दै चीनले नेपालका लागि पठाइएका ड्रोनमा भिडियो प्रसारण प्रणाली तथा सिग्नल अवरोधविरुद्धको प्रविधि सुधार गरिएको जनाएको छ। यी प्रणालीले करिब ४० किलोमिटरसम्म सञ्चार सङ्केत प्रसारण गर्न सक्ने बताइएको छ। आपत्कालीन अवस्थामा ड्रोन स्वतः सुरक्षित रूपमा आधारस्थल फर्कन तथा पुनः सञ्चालन गर्न सक्ने ‘इन्टेलिजेन्स’ प्रणालीसमेत राखिएको जनाइएको छ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले नेपाललाई सहयोग गर्दै चीन कठिनाइको समयमा नेपालसँग दृढतापूर्वक उभिने बताएका छन्। उनले चीनको सहयोगलाई दुई छिमेकीबीचको परम्परागत मित्रतालाई थप विस्तार गर्ने प्रयासका रूपमा प्रस्तुत गरेका छन्।

You may also like