बुटवल। रसुवामा बाढीका कारण प्रभावित भएका नागरिकलाई राहत उपलब्ध गराउने उद्देश्यले लुम्बिनी प्रदेशका फुटवेयर उद्योगीहरूले १० हजार ३२५ जोर जुत्ता तथा चप्पल पठाएका छन् ।
फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएसन अफ नेपाल, लुम्बिनी प्रदेशको पहलमा विभिन्न नौ वटा उद्योगबाट संकलन गरिएको जुत्ता बुधबार प्रभावित क्षेत्रतर्फ पठाइएको हो । बाढीपीडितलाई तत्काल आवश्यक पर्ने सामग्रीमध्ये जुत्ता–चप्पल पनि रहेकाले उद्योगीहरूले राहतस्वरूप सहयोग गरेका हुन् ।
एसोसिएसनका लुम्बिनी प्रदेश अध्यक्ष यज्ञप्रसाद भुर्तेलका अनुसार एभरेस्ट कम्फर्ट प्रालिले ३ हजार ७०२ जोर, आस्था फुटवेयर प्रालिले १ हजार ११२ जोर, फस्ट स्टेप इन्डस्ट्रिजले ७५४ जोर र मुन स्टार फुटवेयरले १ हजार २४ जोर जुत्ता उपलब्ध गराएका छन् ।
त्यसैगरी ग्यालेक्सी नेपाल फुटवेयर इन्डस्ट्रिजले १ हजार २१० जोर, सिटीवाक फुटवेयरले १ हजार ५६ जोर, ग्लोबल फुटवेयर इन्डस्ट्रिजले ६७२ जोर, युनिभर्सल सुज इन्डस्ट्रिजले ५४६ जोर र शिव प्लास्टिकले २४९ जोर जुत्ता सहयोग गरेका छन् ।
एसोसिएसनका केन्द्रीय सदस्य चोलाप्रसाद पाठकले बाढीबाट विस्थापित तथा प्रभावित नागरिकलाई जुत्ता–चप्पलको आवश्यकता रहेकाले उद्योगीहरूको तर्फबाट राहतस्वरूप सामग्री पठाइएको बताउनुभयो ।
उहाँका अनुसार बुटवलबाट पठाइएको राहत सामग्री काठमाडौँ प्रहरीलाई हस्तान्तरण गरिनेछ । त्यसपछि प्रहरीले आवश्यकताका आधारमा प्रभावित क्षेत्रमा पुर्याएर वितरण गर्नेछ ।
बाढीपीडितलाई सहयोग गर्ने अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिने एसोसिएसनले जनाएको छ । प्रभावित क्षेत्रमा आवश्यक सामग्रीको अवस्था हेरेर दोस्रो चरणमा थप जुत्ता तथा चप्पल पठाउने तयारीसमेत गरिएको पाठकले जानकारी दिनुभयो ।
राहत सामग्री पठाउने कार्यक्रममा एसोसिएसनका उपाध्यक्ष राजेन्द्र गुप्ता, सचिव जनक बेलबासे, कोषाध्यक्ष नेत्रप्रसाद खनाललगायत उद्योगी तथा व्यवसायीहरूको सहभागिता थियो ।
कार्यक्रममा एभरेस्ट फुटवेयरका सकुर मियाँ, फरदिन खान, मुवारक हुसेन, फस्ट स्टेपका निर्देशक राजेश देवकोटा, आस्था फुटवेयरका प्रतिनिधि, बुटवल उद्योग वाणिज्य संघका सदस्य दीपक चापागाईं, पुरुषोत्तम घिमिरे र शिव प्लास्टिकका रूपेश पटेललगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा सहभागी उद्योगी तथा व्यवसायीहरूले बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै प्रभावित परिवारको राहत र पुनःस्थापनाका लागि आवश्यक सहयोग गर्न सबै पक्षलाई आग्रह गरेका छन् ।

