भोटेकोशी बाढीमा बेपत्ता भई भारत पुगेका ९ जनाको शव नेपाल ल्याइयो

by समतल अनलाइन
50Shares

रूपन्देही । भोटेकोशी नदीमा आएको बाढीमा बगेर भारत पुगेका नौ जनाको शव भारतीय सुरक्षा निकायले नेपाललाई हस्तान्तरण गरेको छ । भारतको उत्तर प्रदेशस्थित कुशीनगर जिल्लामा फेला परेका ती शव सुनौली नाका हुँदै नेपाल ल्याइएको हो ।

भारतीय सुरक्षा निकायले खड्डा र पडरौना थाना क्षेत्रबाट फेला पारेका शव नेपाल ल्याएर रुपन्देहीको बेलहिया इलाका प्रहरी कार्यालयलाई बुझाएको जनाएको छ । भारतीय प्रहरीले मंगलबार साँझ पाँच तथा बुधबार अपराह्न थप चार शव नेपाल पठाएको हो ।

नेपाल ल्याइएका नौ शवमध्ये एक बालिकासहित चार महिला र पाँच पुरुष रहेका छन् । बेलहियामा आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा गरेपछि सबै शवलाई थप परीक्षण र पहिचानका लागि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

खड्डा थानाका सब–इन्स्पेक्टर सञ्जीवकुमार मौर्यका अनुसार नारायणी नदीको ठोकर नम्बर ३ नजिक पर्ने मदनपुर सुक्रौली क्षेत्रबाट नदी किनारमा शव फेला परेका थिए । उक्त स्थान नेपाल–भारत सीमामा रहेको गण्डक बाँध क्षेत्रबाट करिब ३५ किलोमिटरको दूरीमा पर्छ ।

बुधबार नेपाल ल्याइएका चार शवमध्ये ९ देखि १२ वर्ष उमेर समूहकी बालिका, ३५ देखि ४० वर्षकी महिला, ४० देखि ४५ वर्ष उमेरका पुरुष र दाहिने हातमा ‘दशरथ जङ्गे’ लेखिएको २३ देखि २८ वर्ष उमेरका युवक रहेका छन् ।

पडरौना थानाका मेजिस्ट्रेट देवेन्द्रकुमार यादवका अनुसार भारतमा शव भेटिएपछि आवश्यक कानुनी प्रक्रिया पूरा गर्दै सुरक्षित राखिएको थियो । शवको पञ्चनामा गरी गोरखपुरस्थित एम्स अस्पतालमा पोस्टमार्टमसमेत गरिएको उनले जानकारी दिए ।

शवको पहिचान गर्न सहज होस् भन्ने उद्देश्यले पोस्टमार्टमका क्रममा डीएनएलगायत आवश्यक प्रमाणसमेत सुरक्षित राखिएको भारतीय अधिकारीहरूले बताएका छन् ।

भोटेकोशीमा आएको बाढीपछि बेपत्ता भएका व्यक्तिहरूको शव भारततर्फ पुग्ने क्रम देखिएसँगै नेपाल र भारतका सुरक्षा निकायबीच खोजी, पहिचान र शव हस्तान्तरणका लागि समन्वय भइरहेको छ । भारतमा फेला परेका शवलाई पहिचान गरी सम्बन्धित परिवारसम्म पुर्‍याउने प्रयास भइरहेको छ ।

You may also like