काठमाडौं । आन्तरिक राजस्व विभागले रसुवा, नुवाकोट, धादिङलगायतका स्थानमा गएको बाढीपहिरोका कारण आज भदौ १६ गते हुने करदाता प्रोत्साहन उपहार कार्यक्रमको विजेता घोषणा स्थगित गरेको छ।
विभागका अनुसार स्थगित कार्यक्रम तथा आगामी पाक्षिक अवधिको उपहार विजेता छनोट आगामी असोज १ गते गरिनेछ। उक्त दिन भदौ महिनाभरका खरिद बीजकका कुपनबाट दैनिक तथा बम्पर उपहारका विजेता छनोट गरिने विभागले जनाएको छ।
बजेटमार्फत घोषणा गरिएको करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत प्रत्येक १५ दिनमा चिठ्ठा खोलिँदै आएको थियो ।
बिल–बीजक लिने संस्कृतिको विकास गर्ने र उपभोक्तालाई अनिवार्य रूपमा बिल लिन प्रोत्साहित गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको थियो ।
सरकारले साउन महिनामा दुईपटक चिठ्ठा खोलेको थियो । त्यसबाट दुई जनाले १० लाख रुपैयाँका दरले बम्पर पुरस्कार तथा ३० जनाले १ लाख ३३ हजार ३३४ रुपैयाँका दरले पुरस्कार पाएका थिए । २५ प्रतिशत आकस्मिक लाभकर कटौतीपछि बम्पर विजेताले जनही ७ लाख ५० हजार रुपैयाँ तथा अन्य विजेताले जनही १ लाख रुपैयाँ प्राप्त गरेका थिए ।

