बुटवल । रसुवामा गएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि रुपन्देहीको ओमसोतिया गाउँपालिकाले २४ लाख १७ हजार ९ सय रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।
गाउँपालिकाले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको हो। विपद्को समयमा पीडित नागरिकलाई सहयोग गर्ने उद्देश्यले गाउँपालिकाले राहत कोषमा रकम उपलब्ध गराउने निर्णय गरेको जनाएको छ।
रसुवालगायतका क्षेत्रमा बाढीपहिरोका कारण ठूलो जनधनको क्षति भएको र सयौँ परिवार प्रभावित भएको अवस्थामा स्थानीय तहबाट समेत सहयोग र ऐक्यबद्धता आवश्यक रहेको भन्दै गाउँपालिकाले सहयोग गर्ने निर्णय गरेको हो।
गाउँपालिकाले विपद्मा परी ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ। साथै, बेपत्ता नागरिकको खोजी तथा प्रभावित परिवारको उद्धार र राहतमा राज्यका सबै निकायसँग सहकार्य गर्न आग्रह गरेको छ।
गाउँपालिकाले उपलब्ध गराउने २४ लाख १७ हजार ९ सय रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत बाढीपीडितको राहत तथा उद्धारमा उपयोग हुने अपेक्षा गरिएको छ

