बुटवल । भोटेकोशी बाढीबाट प्रभावित परिवारहरूको राहत र पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले रूपन्देहीकाे बुटवलमा रहेर सौन्दर्य कला तथा व्यक्तिगत हेरचाहसम्बन्धी अन्तराष्ट्रिय स्तरकाे सेवा प्रदान गर्दै आएकाे पश्चिम नेपालकै चर्चित समृद्धि सलुन एण्ड एकेडमीले प्रधानमन्त्री राहत कोषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयोग गरेको छ।
समृद्धि सलुन एन्ड एकेडेमीले व्यवसाय केवल आम्दानीका लागि मात्र नभई समाजप्रतिको जिम्मेवारी हाे भन्ने सन्देशसहित भाेटेकाेशीकाे बाढीबाट विपदमा परेका हरूका लागि नगद सहयाेग प्रदान गरेको जनाएको छ। समृद्धि सलुन एन्ड एकेडेमी परिवारका तर्फबाट सलुनका संस्थापक तथा प्रबन्ध निर्देशक मोहन ठाकुरले विपद्का बेला व्यक्ति, व्यवसायी र संस्थाहरूले आफ्नो क्षमताअनुसार पीडितको साथमा उभिनुपर्ने समेत बताए।
उनले सहयोगको रकम सार्वजनिक गर्नुको उद्देश्य प्रचार गर्नु नभई अरूलाई पनि सहयोगका लागि उत्प्रेरित गराेस भन्ने मनसाय रहेकाे बताए । ‘सहयोग गरेको पनि देखाउनैपर्छ र भन्ने प्रश्न आउन सक्छ,’ ठाकुरले भने, ‘तर मैले गरेको सहयोग देखेर थप दुई–चार जना मानिस सहयोग गर्न प्रेरित हुन्छन् भने त्यसलाई सकारात्मक रूपमा लिनुपर्छ।’ उनले विपद्को समयमा सहयोगको एउटा उदाहरणले अर्को व्यक्ति वा संस्थालाई पनि अघि बढ्न प्रेरित गर्न सक्ने बताए।
‘हामीले सहयोग गरेर त्यसको चर्चा गर्नुको उद्देश्य आफूलाई ठूलो देखाउनु होइन,’ उनले भने, ‘अरू कसैलाई पनि सहयोग गर्ने हिम्मत र प्रेरणा दिनु नै मुख्य उद्देश्य हो।’ ठाकुरले एउटा हातबाट सुरु भएको सहयोगमा अरू हातहरू थपिँदै जाँदा त्यो पीडित परिवारका लागि ठूलो आशामा परिणत हुन सक्ने समेत बताए।
उनले भने, ‘विपद्को समयमा एउटा हातले दिएको सहयोगले अर्को हातलाई पनि अघि बढ्न प्रेरित गर्न सक्छ। एकपछि अर्को हात जोडिँदै जाँदा त्यही सहयोग ठूलो आशामा परिणत हुन्छ।’ समृद्धि सलुनले आफूहरूले उपलब्ध गराएको रकमभन्दा समाजमा जाग्ने सहयोग र मानवीयताको भावना अझ महत्वपूर्ण रहेको जनाएको छ।
बाढीबाट प्रभावित परिवारहरू तत्काल राहतसँगै दीर्घकालीन पुनःस्थापनाको चुनौतीमा रहेका बेला निजी क्षेत्र तथा साना–ठूला व्यवसायबाट आउने सहयोगले समेत राहत अभियानमा योगदान पुर्याउन सक्ने समृद्धि सलुनको विश्वास छ। समृद्धि सलुन परिवारले भोटेकोशी बाढीमा परी ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै प्रभावित परिवारप्रति गहिरोसमवेदना प्रकट गरेको छ।
साथै बाढी प्रभावित परिवारहरूको पुनःस्थापना, सुरक्षित बसोबास र सहज जीवनयापनको कामना गर्दै समाजका अन्य व्यक्ति, व्यवसायी तथा संघसंस्थालाई पनि आफ्नो क्षमताअनुसार सहयोगमा सहभागी हुन आह्वान गरेको छ।
एक दशक अगाडी बुटवलमा स्थापना भएकाे संमृद्धि सलुन एन्ड एकेडमीले रूपन्देहीकाे बुटवल, मणिग्राम, नवलपरासीकाे वर्दघाट तथा कपिलवस्तुकाे जितपसर तथा कास्कीकाे पाेखरामा सैलुन संचालन गर्दै आएकाे छ ।

