१ लाख सहयोग गर्न खोज्दा १० लाख रुपैयाँ विपद् कोषमा ट्रान्सफर

by समतल अनलाइन
83Shares

काठमाडौँ । बाढी तथा विपद्बाट प्रभावित नागरिकको सहयोगका लागि १ लाख १ हजार १ रुपैयाँ योगदान गर्न खोज्दा एक सहकारी संस्थाबाट भुलवश १० लाख १ हजार १ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भएको छ।

कोटेश्वरस्थित सुयोग्य बचत तथा ऋण सहकारी संस्था लिमिटेडले बाढीपीडितको सहयोगार्थ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम पठाउने क्रममा निर्धारित रकमभन्दा करिब १० गुणा बढी रकम ट्रान्सफर गरेको हो।

सहकारीले १ लाख १ हजार १ रुपैयाँ सहयोग गर्ने निर्णय गरेको थियो। सोहीअनुसार बिहीबार ग्लोबल आइएमई बैंकमा रहेको कोषको खातामा कनेक्ट आईपीएसमार्फत रकम पठाउने क्रममा रकम प्रविष्ट गर्दा भुलवश १० लाख १ हजार १ रुपैयाँ ट्रान्सफर भएको सहकारीका प्रमुख कार्यकारी अधिकृत सुमन कार्कीले बताएका छन्।

रकम निर्धारितभन्दा बढी ट्रान्सफर भएको थाहा पाएपछि सहकारीले भुलवश जम्मा भएको अतिरिक्त रकम फिर्ता गरिदिन आग्रह गर्दै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई निवेदन दिएको छ।

प्रमुख कार्यकारी अधिकृत कार्कीले सहकारीले योगदान गर्ने निर्णय गरेको १ लाख १ हजार १ रुपैयाँ भने छुट्टै रूपमा पुनः ट्रान्सफर गर्ने बताएका छन्।

भुलवश बढी रकम पठाइएको पुष्टि हुने बैंकिङ विवरणसमेत कोषलाई पठाइएको निवेदनसँगै संलग्न गरिएको सहकारीले जनाएको छ। सहकारीले आफ्नो तर्फबाट हुन गएको प्राविधिक तथा मानवीय त्रुटिका कारण अतिरिक्त रकम ट्रान्सफर भएको भन्दै सो रकम फिर्ता गरिदिन अनुरोध गरेको हो।

बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि विभिन्न व्यक्ति, संस्था तथा संघसंस्थाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम जम्मा गरिरहेका बेला सुयोग्य सहकारीले पनि सहयोग गर्ने निर्णय गरेको थियो। तर रकम पठाउने क्रममा भएको सामान्य त्रुटिका कारण सहयोग गर्न खोजिएको भन्दा झन्डै नौ लाख रुपैयाँ बढी रकम कोषमा पुगेको हो।

You may also like