बुटवल । बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि बुटवल उपमहानगरपालिकाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।
स्थानीय विपद् व्यवस्थापन समितिको सिफारिसका आधारमा बसेको उपमहानगरपालिकाको कार्यपालिका बैठकले उक्त रकम उपलब्ध गराउने निर्णय गरेको हो। बाढीबाट ठूलो जनधनको क्षति भएको अवस्थामा तत्काल राहत तथा उद्धारका कामलाई प्राथमिकता दिन रकम सहयोग गर्ने निर्णय गरिएको नगरपालिकाले जनाएको छ।
बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले विपद्को यो अवस्थामा स्थानीय सरकारको पहिलो जिम्मेवारी प्रभावित नागरिकको उद्धार र राहत भएकाले उपमहानगरपालिकाले आफ्नोतर्फबाट सहयोगको पहल थालेको बताएका छन्। उनका अनुसार विपद्का बेला सबै पक्ष एकजुट भएर प्रभावित परिवारको साथमा उभिन आवश्यक छ।
नगरपालिकाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पठाउने रकमसँगै जनप्रतिनिधि र कर्मचारीबाट समेत थप रकम संकलन गरी कोषमा जम्मा गर्ने निर्णय गरेको छ। त्यस्तै, बुटवल क्षेत्रभित्र बाढीका कारण तत्काल व्यक्तिगत उद्धार तथा राहत आवश्यक परेका नागरिकलाई आवश्यकताका आधारमा ५ हजार रुपैयाँसम्म सहयोग उपलब्ध गराउने व्यवस्था गरिएको छ।
नगरप्रमुख पाण्डेयले बाढीपीडितको वास्तविक अवस्था पहिचान गरी आवश्यकताअनुसार राहत पुर्याउन विवरण संकलन तथा अभिलेखीकरणको कामलाई समेत प्राथमिकता दिइएको बताएका छन्। प्रभावित परिवारसम्म राहत पुग्ने गरी स्थानीय तहबाट आवश्यक समन्वय र सहजीकरण गरिने उनको भनाइ छ।
यसैबीच, बुटवल उपमहानगरपालिकाले बाढीबाट उत्पन्न विपद्को अवस्थालाई ध्यानमा राख्दै १३ दिनसम्म कुनै पनि मनोरञ्जनात्मक कार्यक्रम नगर्न सबैमा अपिल गरेको छ। नगरपालिकाले २०८३ साल जेठ २२ गतेसम्म नगर क्षेत्रमा मनोरञ्जनात्मक कार्यक्रम आयोजना नगर्न आग्रह गरेको हो।
नगरप्रमुख पाण्डेयले विपद्को समयमा मनोरञ्जनभन्दा पीडित नागरिकको उद्धार, राहत र सहयोगलाई प्राथमिकता दिनुपर्ने बताएका छन्। उनले जनप्रतिनिधिलाई समेत १३ दिनसम्म मनोरञ्जनात्मक कार्यक्रममा सहभागी नहुन आग्रह गरेका छन्।
नगरपालिकाले बुटवलमा क्रियाशील राजनीतिक दल, संघसंस्था, निजी क्षेत्र तथा आम नगरवासीलाई पनि विपद्को समयमा प्रभावित नागरिकप्रति संवेदनशील हुँदै राहत तथा उद्धारमा सहयोग गर्न आह्वान गरेको छ।
बाढीका कारण ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै नगरपालिकाले शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ। साथै, बाढीबाट प्रभावित तथा बिरामी परेका नागरिकको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।

