भोटेकोशी बाढीमा दुई दिनमा ९३७ जनाको उद्धार

by समतल अनलाइन
47Shares

काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीपछि प्रभावित क्षेत्रमा उद्धार कार्य तीव्र पारिएको छ। बाढीका कारण विभिन्न स्थानमा अलपत्र परेका नागरिकको खोजी तथा उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल परिचालन गरिएको छ।

बाढी प्रभावित रसुवा र नुवाकोटका विभिन्न स्थानबाट सुरक्षाकर्मीले दुई दिनको अवधिमा ९३७ जनाको उद्धार गरेका छन्। उद्धार गरिएकामध्ये केहीलाई हेलिकप्टरमार्फत सुरक्षित स्थानमा सारिएको छ भने केहीको जमिनमार्फत उद्धार गरिएको हो।

सबैभन्दा बढी प्रभावित रसुवाको टिमुरे, स्याफ्रुबेंसी, धुन्चे र मैलुङ क्षेत्रबाट नेपाली सेनाले बिहीबार मात्रै ६०२ जनालाई हेलिकप्टरमार्फत उद्धार गरेको जनाएको छ। त्यसैगरी, थप २०० जनालाई जमिनी माध्यमबाट उद्धार गरिएको सैनिक स्रोतले जनाएको छ।

बाढीमा परी घाइते भएकाहरूको उपचारका लागि नेपाली सेनाले नुवाकोटको त्रिशूलीमा आपतकालीन उपचार केन्द्रसमेत सञ्चालनमा ल्याएको छ। उक्त केन्द्रबाट हालसम्म ३३८ जनाले उपचार सेवा लिइसकेका छन्।

उद्धार तथा खोजी कार्यलाई प्रभावकारी बनाउन सुरक्षाकर्मीले ड्रोन र तालिमप्राप्त कुकुरसमेत परिचालन गरेका छन्। बाढीमा हराइरहेका तथा सम्पर्कविहीन नागरिकको खोजीलाई प्राथमिकता दिँदै प्रभावित क्षेत्रमा सुरक्षाकर्मीको टोली परिचालन गरिएको छ।

बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाका मात्रै करिब ४ हजार २ सय जनशक्ति परिचालन गरिएको छ। उद्धारसँगै सडक तथा यातायात सञ्चालनमा ल्याउने काममा समेत सेना सक्रिय छ।

धादिङस्थित पृथ्वी राजमार्गमा बाढीका कारण थुप्रिएको लेदो हटाएर सडक सञ्चालन सहज बनाउन पनि नेपाली सेनाको टोली परिचालन गरिएको छ। बाढीबाट अवरुद्ध भएका क्षेत्रमा उद्धार, उपचार तथा सडक खुलाउने कामलाई सँगसँगै अघि बढाइएको सुरक्षा निकायले जनाएको छ।

You may also like