बुटवल, ११ भदौ । नेपालमा हालै आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि अक्सफोर्ड मा.वि. र अक्सफोर्ड कलेज, बुटवलले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ लाख रुपैयाँ सहयोग गरेका छन् ।
शिक्षण संस्था केवल ज्ञान र शिक्षा प्रदान गर्ने केन्द्र मात्र नभई समाजमा आइपर्ने दुःख र संकटका समयमा पीडितको साथमा उभिनुपर्ने जिम्मेवार संस्थाका रूपमा समेत भूमिका निर्वाह गर्नुपर्ने मान्यतालाई आत्मसात गर्दै उक्त सहयोग गरिएको हो ।
अक्सफोर्ड मा.वि., बुटवलले ४ लाख रुपैयाँ र अक्सफोर्ड कलेज, बुटवलले १ लाख रुपैयाँ गरी कुल ५ लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेका छन् । बाढीबाट प्रभावित नागरिकको राहत तथा सहयोगमा केही भए पनि योगदान पुगोस् भन्ने उद्देश्यले उक्त रकम प्रदान गरिएको हो ।
विनाशकारी बाढीबाट विभिन्न क्षेत्रमा ठूलो जनधन तथा भौतिक क्षति भएकोप्रति दुःख व्यक्त गर्दै अक्सफोर्डले विपद्को यस कठिन समयमा पीडित परिवारको दुःखमा थोरै भए पनि राहत पुग्ने विश्वास व्यक्त गरेको छ ।
अक्सफोर्डले मानवता, सहकार्य र सामाजिक उत्तरदायित्वलाई शिक्षण संस्थाको महत्वपूर्ण दायित्वका रूपमा लिँदै आगामी दिनमा पनि समाजमा आवश्यक पर्ने सहयोग तथा मानवीय कार्यमा आफ्नो भूमिका निरन्तर राख्ने प्रतिबद्धता जनाएको छ ।

