भारी वर्षा र हिमपातको जोखिम, सतर्क रहन आग्रह

by समतल अनलाइन
28Shares

काठमाडौं । बंगालको खाडीमा विकसित शक्तिशाली चक्रवात ‘अर्नब’ कमजोर हुँदै गएपनि त्यसको आंशिक प्रभावले नेपालमा वर्षा र हिमपातको जोखिम बढाएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार कात्तिक १२ गतेदेखि शनिबार १४ गतेसम्म देशका विभिन्न भागमा वर्षा तथा हिमपात हुने सम्भावना छ।

यस अवधिमा केही स्थानमा भारी वर्षा र हिमपात हुन सक्ने भएकाले कृषि कार्यदेखि हिमाली पर्यटन, सडक तथा हवाई यातायातसम्म प्रभावित हुन सक्ने महाशाखाले जनाएको छ।

महाशाखाले चक्रवात ‘अर्नब’ बुधबार बिहान करिब ८ः१५ बजे भारतको आन्ध्रप्रदेश र यानमको तटीय क्षेत्रबाट जमिनमा प्रवेश गरेको बताएको छ। त्यसपछि उत्तर–उत्तरपश्चिम दिशातर्फ अघि बढेको चक्रवात क्रमशः कमजोर हुँदै गएको छ।

सुरुमा ‘अत्यन्त भीषण चक्रवाती आँधी’को श्रेणीमा रहेको यो प्रणालीलाई घटाएर ‘भीषण चक्रवाती आँधी’मा झारिएको छ। बिहीबार थप कमजोर हुँदै गहिरो न्यूनचापीय प्रणालीमा परिणत हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।

यसैबीच चक्रवातको अवशेषबाट विकसित मौसम प्रणालीको प्रभावले नेपालको वायुमण्डलमा माथिल्लो तहका बादल देखिन थालेका छन्। शुक्रबार यसको प्रभाव थप बढ्ने अनुमान गरिएको छ।
महाशाखाका अनुसार कात्तिक १२ गते साँझदेखि १४ गतेसम्म कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुन सक्छ।

कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा पनि मेघगर्जन, चट्याङ र असिनासहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ।

यस अवधिमा कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी वर्षा तथा हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ। कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा समेत भारी वर्षा तथा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।

चक्रवातको अवशेषले जलवाष्पयुक्त हावा नेपालसम्म ल्याउने र माथिल्लो वायुमण्डलको प्रणालीसँग अन्तरक्रिया गर्ने भएकाले वर्षा तथा हिमपातको सम्भावना देखिएको वरिष्ठ मौसमविद् विभूति पोखरेलले बताए।
उनका अनुसार उच्च हिमाली क्षेत्रमा बाक्लो हिमपातसँगै हिमआँधी र हिमपहिरोको जोखिमसमेत रहन सक्छ। त्यसैले हिमाली क्षेत्रमा यात्रा गर्ने पर्यटक तथा पदयात्रीले विशेष सावधानी अपनाउनुपर्ने देखिएको छ।

महाशाखाकी मौसमविद् बिनु महर्जनले पनि उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको जोखिम रहेकाले सतर्कता अपनाउन आग्रह गरेकी छन्।

सम्भावित वर्षा र हिमपातलाई ध्यानमा राख्दै महाशाखाले कात्तिक १४ गतेसम्म धानबाली सुरक्षित राख्न किसानलाई आग्रह गरेको छ। त्यस्तै, मौसम प्रतिकूल रहने अवधिमा उच्च हिमाली क्षेत्रमा पदयात्रा नगर्न र त्यस्ता क्षेत्रमा पुगिसकेका पर्यटकलाई सुरक्षित स्थानमा रहन अनुरोध गरिएको छ।
वर्षा र हिमपातका कारण तापक्रम घटेर चिसो बढ्न सक्ने, जोखिमयुक्त स्थान तथा सडकछेउमा पहिरो जान सक्ने र सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने महाशाखाले जनाएको छ। सम्भावित जोखिम न्यूनीकरणका लागि सर्वसाधारण र सम्बन्धित निकायलाई आवश्यक पूर्वतयारी गर्न पनि आग्रह गरिएको छ।

महाशाखाले मौसम प्रणालीको निरन्तर अनुगमन गरिरहेको जनाएको छ। मौसमको अवस्थाअनुसार थप सूचना जारी गरिने भएकाले सर्वसाधारणलाई आधिकारिक तथा अद्यावधिक मौसम पूर्वानुमान नियमित रूपमा हेर्न अनुरोध गरिएको छ।

You may also like