प्रथम ज्ञानपुञ्ज जिल्ला स्तरीय अन्तरविद्यालय सेभेन ए–साइड फुटबल प्रतियोगिता ः सातौ दिनमा पाँच खेल सम्पन्न

by समतल अनलाइन
24Shares

बुटवल। ज्ञानपुञ्ज इङ्लिस बोर्डिङ स्कुल, बुटवल–११, नहरपुर, रुपन्देहीको आयोजनामा सञ्चालित प्रथम ज्ञानपुञ्ज जिल्ला स्तरीय अन्तरविद्यालय ७–ए–साइड फुटबल प्रतियोगिता–२०८३ अन्तर्गत सातौँ दिन पाँचवटा प्रतिस्पर्धात्मक खेल सम्पन्न भएका छन् । प्रतियोगिताको शीर्ष प्रायोजक सिद्धार्थ केबलकार लिमिटेड तथा मुख्य प्रायोजकहरू सिद्धि विनायक स्न्याक्स एण्ड नूडल्स प्रा.लि. र ऊर्जा इन्टरप्राइजेज प्रा.लि. रहेका छन् ।

सातौँ दिनको पहिलो खेलमा शिवपुर माध्यमिक विद्यालय विरुद्ध नवरत्न इङ्लिस हाई स्कुलले संघर्षपूर्ण जित हासिल गर्‍यो । अत्यन्त प्रतिस्पर्धात्मक बनेको खेलमा अमृत बी.के.को निर्णायक गोल नै नवरत्नको जितको आधार बन्यो। उत्कृष्ट प्रदर्शनसहित टोलीलाई महत्वपूर्ण जित दिलाएका अमृत बी.के. प्लेयर अफ द म्याच घोषित भए ।

दोस्रो खेलमा नवीन औद्योगिक कदर बहादुर रीता माध्यमिक विद्यालय–टिम एले लुम्बिनी शिक्षालयमाथि ४–० गोलअन्तरको प्रभावशाली जित दर्ता गर्‍यो । कुलचो गुरुङले टोलीका लागि खाता खोले भने रोयल पंगेनीले दुई गोल गर्दै उत्कृष्ट प्रदर्शन गरे। अजित हमालले एक गोल थपे। दुई गोलसहित प्रभावशाली प्रदर्शन गरेका रोयल पंगेनी प्लेयर अफ द म्याच घोषित भए ।

तेस्रो खेलमा सैनामैना पर्रोहा परमेश्वर माध्यमिक विद्यालयले कोलिया इङ्लिस बोर्डिङ स्कुलमाथि ४–० को फराकिलो जित हासिल गर्‍यो । टोलीका कप्तान सुभाष नेपालीले उत्कृष्ट दुई गोल गर्दै अग्रणी भूमिका निर्वाह गरे भने नबिन बी.के.ले पनि दुई गोल थपे। नेतृत्वदायी तथा प्रभावशाली प्रदर्शन गरेका कप्तान सुभाष नेपाली प्लेयर अफ द म्याच घोषित भए ।

चौथो खेलमा नवीन औद्योगिक कदर बहादुर रीता माध्यमिक विद्यालय–टिम बीले श्री जनज्योति माध्यमिक विद्यालयलाई २–० गोलअन्तरले पराजित गर्‍यो । टोलीको जितमा श्याम परियार एक्लैले दुवै गोल गर्दै निर्णायक भूमिका खेले। उत्कृष्ट फिनिसिङसहित शानदार प्रदर्शन गरेका श्याम परियार प्लेयर अफ द म्याच घोषित भए ।

सातौँ दिनको अन्तिम खेलमा नवरत्न इङ्लिस हाई स्कुल र स्कलर्स होम इङ्लिस बोर्डिङ स्कुलबीच निर्धारित समयसम्म कुनै गोल हुन सकेन । गोलरहित बराबरीपछि खेल टाइब्रेकरमा पुगेको थियो, जहाँ नवरत्नले ३–१ को जित हासिल गर्दै अर्को चरणको यात्रा तय गर्‍यो । टाइब्रेकरमा महत्वपूर्ण प्रदर्शन गरेका नवरत्नका गोलरक्षक अजय घमाल प्लेयर अफ द म्याच घोषित भए । प्रतियोगितामा विजेता हुने समूहले नगद ५१ हजार ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन भने उपविजेताले नगद ३१ हजार सहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । बुटवल देविनगर स्थित एन्फा रंगशालामा खेल भइरहेको छ ।

You may also like