55
बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका–४ डिङ्गारनगरस्थित तिनाउ खोलामा बाढीमा फसेका एक युवकको सुरक्षाकर्मीले सकुशल उद्धार गरेका छन्।
आइतबार बिहान खोलामा आएको बाढीका क्रममा बगाएर ल्याएको दाउरा निकाल्ने क्रममा गुल्मीको मालिका गाउँपालिका–३ पैयुखर्क स्थायी घर भई हाल बुटवल उपमहानगरपालिका–१७ रानीगञ्ज बस्दै आएका ३१ वर्षीय गोरखबहादुर विक बाढीमा फसेका थिए।
घटनाबारे जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बुटवल र सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस बुटवलको संयुक्त उद्धार टोली घटनास्थल पुगेको थियो। टोलीले जोखिमपूर्ण अवस्थामा रहेका विकलाई सकुशल उद्धार गरेको प्रहरीले जनाएको छ।
वर्षायाममा नदी तथा खोलामा पानीको बहाव एक्कासि बढ्ने भएकाले दाउरा संकलन वा अन्य प्रयोजनका लागि नदी क्षेत्रमा नजान प्रहरीले सर्वसाधारणलाई आग्रह गरेको छ।


