पूर्वाधार विकास मन्त्री लम्सालको निर्देशन: काम नगरे ठेकेदारको खुट्टा भाँच्दिनू

by समतल अनलाइन
59Shares

काठमाडौं।पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले नौबिसे–मलेखु सडकखण्डमा बिजुलीका पोल सार्ने जिम्मा पाएको ठेकेदारप्रति चर्को असन्तुष्टि प्रकट गरेका छन्। मन्त्री लम्सालले समयमै काम नगरे ठेकेदारको खुट्टा भाँच्न निर्देशन दिएका हुन्।

आइतबार पृथ्वी राजमार्गको उक्त खण्ड अनुगमन गर्ने क्रममा मन्त्री लम्सालले ठेकेदारविरुद्ध यस्तो कडा अभिव्यक्ति दिएका हुन्। मन्त्रीले मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल, धादिङकी प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय तथा प्रहरी उपरीक्षक सुमित खड्का लगायतलाई निर्देशन दिएका हुन् ।

नागढुंगा–मुग्लिन सडक विस्तारको प्रगति बुझ्न धादिङ पुगेका मन्त्री लम्साललाई आयोजनाका अधिकारीहरूले बिजुलीका पोल सार्न ढिलाइ हुँदा सडक निर्माण कार्य प्रभावित भएको जानकारी गराएका थिए। त्यसपछि आक्रोशित बनेका मन्त्री लम्सालले भने, ‘जो यो पोलवाला हो नि बिजुलीको पोल, त्यो कन्ट्याक्टरलाई कहाँ छ खोजेर ल्याउनू, तेल्लाई पनि यहीँ राख्नू। घर पठाउने हैन। फेरि काम गरेन भने खुट्टा भाँच्दिनू, मतलब भएन।’

पूर्वी खण्डमा बिजुलीका पोल सार्ने जिम्मा नेपाल विद्युत् प्राधिकरणले ‘सोहन कन्स्ट्रक्सन’ लाई दिएको छ। आयोजनाका कर्मचारीका अनुसार आदमघाटदेखि मलेखुसम्म अझै ७४ वटा पोल सार्न बाँकी छ। कतिपय स्थानमा नयाँ पोल गाडिए पनि पुरानो पोलबाट तार नसारिँदा दुर्घटनाको जोखिम बढेको छ।

नागढुंगा–मुग्लिन सडकको पोल सार्न मात्रै १२ करोड रुपैयाँभन्दा बढी खर्च लाग्ने अनुमान छ। सोमध्ये पूर्वी खण्डका लागि आयोजनाले प्राधिकरणलाई ५ करोड रुपैयाँ भुक्तानी गरिसकेको छ। प्राधिकरणबाट कागजपत्र आउनासाथ अन्तिम किस्ता पनि भुक्तानी हुन्छ, तर पोल नसारिँदा काम गर्न निकै कठिन भएको छ ।

You may also like