रोट्रयाक्ट युथ आइकन–२०८३ को उपाधि सबिता पोख्रेललाई

by समतल अनलाइन
27Shares

बुटवल।रोट्रयाक्ट क्लब अफ बुटवल डाउनटाउनद्वारा आयोजित ‘रोट्रयाक्ट युथ आइकन–२०८३’ को उपाधि सबिता पोख्रेलले जितेकी छन्। शनिबार बुटवलमा सम्पन्न फाइनल प्रतिस्पर्धामा उनले अन्य चार प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि हात पारेकी हुन्।

उपाधिसँगै पोख्रेलले नगद २० हजार रुपैयाँ, मेडल तथा प्रमाणपत्र प्राप्त गरिन्। प्रतियोगितामा लक्ष्मी गैरे द्वितीय र आकाश वली तृतीय भए। द्वितीयले नगद १५ हजार तथा तृतीयले नगद १० हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गरे।

युवाहरूको नेतृत्व क्षमता, व्यक्तित्व विकास तथा वक्तृत्वकलाको प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको क्लबका अध्यक्ष आविष्कार खनालले बताए। उनका अनुसार प्रारम्भिक अडिसनमा २७ जना सहभागी भएका थिए। तीमध्ये उत्कृष्ट १५ जना दोस्रो चरणका लागि छनोट भएका थिए भने अन्ततः पाँच जना फाइनलमा पुगेका थिए।

फाइनलअघि ‘प्यासनदेखि आइकनसम्म’ विषयक प्यानल छलफल आयोजना गरिएको थियो। छलफलमा युवा उद्यमी मोहन ठाकुर, कमलजंग कुँवर तथा शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकका प्रमुख मानव स्रोत तथा रणनीति अधिकारी प्रवास राई सहभागी थिए। उनीहरूले आफ्नो अनुभव, संघर्ष र सफलताका यात्राबारे चर्चा गर्दै युवाहरूलाई लक्ष्यप्रति प्रतिबद्ध रहन प्रेरित गरेका थिए।

फाइनल प्रतिस्पर्धामा सहभागीहरूले ‘भोलिको नेपाल, पुर्खाको इतिहास र वर्तमानका हामी’ विषयमा ६ मिनेटभित्र आफ्ना धारणा प्रस्तुत गरेका थिए। प्रतियोगिताको मूल्याङ्कन विषयवस्तु, प्रस्तुतीकरण, भाषा, मौलिकता तथा समय व्यवस्थापनका आधारमा गरिएको प्रमुख निर्णायक अमर खत्रीले जानकारी दिए।

कार्यक्रमका प्रमुख अतिथि बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले यस्ता प्रतियोगिताले युवाहरूमा आत्मविश्वास, अनुशासन र नेतृत्व क्षमताको विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए।

प्रतियोगितासँगै आयोजित सांस्कृतिक कार्यक्रममा गायक बसन्त श्रेष्ठ तथा अन्य कलाकारहरूले सांगीतिक तथा नृत्य प्रस्तुति दिएका थिए। कार्यक्रममा विभिन्न रोटरी तथा रोट्रयाक्ट क्लबका पदाधिकारी, सञ्चारकर्मी, सामाजिक अभियन्ता तथा युवाहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

कार्यक्रमको सञ्चालन क्लबका सचिव केशव पौडेलले गरेका थिए।

You may also like