बुटवल।लुम्बिनी चेस एकेडेमीले एक विशेष कार्यक्रमका बीच आफ्नो प्रथम वार्षिकोत्सव भव्य रूपमा मनाएको छ। एकेडेमीको आफ्नै कार्यकक्षमा आयोजित समारोहमा केक काटेर वार्षिकोत्सवको उत्सव मनाइएको हो।
वार्षिकोत्सवको अवसरमा एकेडेमीले स्थापनाको छोटो समयमै विभिन्न जिल्ला, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चेस प्रतियोगिताहरूमा उत्कृष्ट प्रदर्शन गरी पदक जित्न सफल आफ्ना प्रतिभावान विद्यार्थी (खेलाडीलाई ) सम्मान पत्रद्वारा सम्मान गरेको थियो।
कार्यक्रममा बोल्दै लुम्बिनी चेस एकेडेमीका संस्थापक शिखर रेग्मीले एकेडेमीले पहिलो वर्षमै हासिल गरेको उपलब्धिप्रति गर्व व्यक्त गर्नुभयो। “हाम्रा विद्यार्थीहरूले जिल्लास्तर देखि लिएर अन्तर्राष्ट्रिय मञ्चसम्म पुगेर एकेडेमी र देशकै नाम राख्न सफल भएका छन्,” संस्थापक रेग्मीले भन्नुभयो, “यो हाम्रो लागि ठुलो गौरवको कुरा हो। आगामी दिनहरूमा खेलाडीहरूको क्षमता विकासका लागि अझै उत्कृष्ट प्रशिक्षण र सुविधाहरू प्रदान गर्दै चेस क्षेत्रमा अझै राम्रो काम गर्ने हाम्रो दृढ संकल्प रहेको छ।”


