पढाइसँगै रोजगार: बुटवलमा १०० विद्यार्थी ट्राफिक व्यवस्थापनमा खटिने

by समतल अनलाइन
40Shares

बुटवल । बुटवल उपमहानगरपालिकाले सञ्चालन गरेको ‘पढाइसँगै रोजगार’ कार्यक्रम अन्तर्गत अब बुटवलको ट्राफिक व्यवस्थापन युवा विद्यार्थीहरूले गर्ने भएका छन्। रूपन्देहीका विभिन्न शैक्षिक संस्थाहरूमा अध्ययनरत १०० जना विद्यार्थीहरू ट्राफिक व्यवस्थापनका लागि सडकमा खटिने भएका हुन्। बुटवल उपमहानगरपालिकाको आर्थिक सहयोग र नेपाल राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलको प्राविधिक सहयोगमा यो अभियान अघि बढाइएको हो। यस कार्यक्रम अन्तर्गत सडकमा खटिने विद्यार्थीहरूलाई ट्राफिक नियम, सडक सुरक्षा, सवारी चालक र पैदलयात्रीसँग गरिने व्यवहार तथा आपत्कालीन अवस्थामा अपनाउनुपर्ने सतर्कताबारे विशेष प्राविधिक प्रशिक्षण दिइएको छ। ट्राफिक प्रहरीको प्रत्यक्ष निगरानी र मार्गनिर्देशनमा यी विद्यार्थीहरूले बुटवलका मुख्य चोक, क्रसिङ र बजार क्षेत्रमा ट्राफिक व्यवस्थापनमा सहयोग पुर्‍याउनेछन्। विद्यार्थीहरुका लागि शनिबारदेखि आयोजना गरिएको अभिमुखीकरण कार्यक्रममा बोल्दै बुटवलका नगर प्रमुख खेलराज पाण्डेयले अध्ययनसँगै रोजगारी गर्न चाहने विद्यार्थीलाई लक्षित गरि पढाईसँगै रोजगार कार्यक्रम सञ्चालन गरिएको बताए । विद्यार्थीलाई खटिएको ठाउँमा उत्कृष्ट सेवा प्रवाह गर्न आग्रह गरे।

“हाम्रो मुख्य उद्देश्य विद्यार्थीहरूलाई पढ्दापढ्दै आर्थिक रूपमा सबल बनाउनु र उनीहरूमा श्रमको सम्मान गर्ने बानीको विकास गर्नु हो ।”-नगर प्रमुख पाण्डेयको भनाइ थियो। उनले विद्यार्थीहरूलाई केवल ट्राफिक नियम मात्र नसिकाएर बुटवलको सभ्यता र संस्कार पनि सडकमा प्रदर्शन गर्न उत्प्रेरित गरे। यस्तो कार्यक्रम देशभरमै नयाँ भएको भन्दै नगर प्रमुख पाण्डेयले कार्यक्रमको प्रभावकारितालाई हेरेर आगामी वर्ष समयावधि र सहभागीको संख्या वृद्धि गर्ने योजना रहेको बताए। साे अवसरमा लुम्बिनी प्रदेश राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका प्रहरी नायव उपरीक्षक माेहनजंग बुढाथापाले यस्ता कार्यक्रमले विद्यार्थीका लागि राेजगारीसँगै दुर्घटनामा कमि आउने विश्वास व्यक्त गरे। सडकमा विद्यार्थीको उपस्थितिले ट्राफिक व्यवस्थापनमा मात्र सहयोग पुग्ने नभई युवा पुस्तामा सडक सुरक्षासम्बन्धी चेतनाको समेत विकास हुने उनको भनाई छ।

युवा र ऊर्जावान् जनशक्ति सडकमा खटिँदा सवारी चालकहरूले ट्राफिक नियमको पालना बढी सचेततापूर्वक गर्ने र पैदलयात्री एवं चालक दुवैलाई सडक अनुशासन सिकाउन विद्यार्थीहरूको उपस्थिति बढी प्रभावकारी र मैत्रीपूर्ण हुने विश्वास लिइएको छ। कार्यक्रममा नेपाल पत्रकार महासंघ रूपन्देहीका अध्यक्ष दिनेश पाण्डे, बुटवल उपमहानगरपालिका राेजगार प्रवर्द्धन शाखा प्रमुख अरविन्द पाण्डेलगायतले कार्यक्रमकाे उद्देश्य र औचित्यबारे आ-आफ्नो भनाइ राखेका थिए। अध्यक्ष पाण्डेले स्थानीय सरकारको यो कदमले संघीयता र स्थानीय सरकारको वास्तविक अनुभूत गराएको टिप्पणी गर्दै सडकमा खटिने विद्यार्थीहरूको सुरक्षा र उनीहरूको हौसला बढाउन आम नागरिक र सञ्चार क्षेत्रले पूर्ण सहयोग गर्नुपर्नेमा जोड दिए। रोजगारी प्रवर्द्धन शाखा प्रमुख पाण्डेले उपमहानगरपालिकाले युवाहरूलाई बेरोजगार बस्न नदिने नीति अनुरूप विभिन्न क्षेत्र पहिचान गरी यो अवधारणा ल्याएको र आगामी दिनमा अन्य विभागहरूमा पनि विद्यार्थीहरूलाई इन्टर्नसिप वा अल्पकालीन रोजगारीमा जोड्दै लगिने जानकारी दिए।

पढाईसँगै राेजगार कार्यक्रम अन्तर्गत बुटवल उपमहानगरपालिकाले यसअघि एक सय जना विद्यार्थीहरूलाई राजश्व व्यवस्थापनमा खटाइसकेको छ। राजस्व संकलन, करदाता शिक्षा र प्रशासनिक सहजताका लागि खटिएका ती विद्यार्थीहरूको प्रदर्शन निकै उत्कृष्ट र पारदर्शी रहेको उपमहानगरको मूल्यांकन छ। राजस्व क्षेत्रमा पाएको सोही सफलता र उत्साहजनक नतिजाकै जगमा उभिएर उपमहानगरले यसपटक थप एक सय जना विद्यार्थीलाई ट्राफिक व्यवस्थापन जस्तो संवेदनशील र चुनौतीपूर्ण क्षेत्रमा परिचालन गरेको हो।

You may also like