भिजिट भिसामा काउन्टर सेटिङ, नेपाल एयरलाइन्सका दुई कर्मचारी पक्राउ

by समतल अनलाइन
56Shares

काठमाडौँ । भिजिट भिसामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेश पठाउन ‘काउन्टर सेटिङ’ गरेको आरोपमा नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) का दुई जना कर्मचारी पक्राउ परेका छन्। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले निगमको करार सेवामा कार्यरत ग्राउन्ड ह्यान्डलिङ स्टाफ प्रबिन लामिछाने र सुमित्रा चन्दलाई आइतबार नियन्त्रणमा लिएको हो।

उनीहरूले विमानस्थलमा काउन्टर सेटिङ गर्ने गरेको सुराक पाएपछि अध्यागमन विभागले अनुसन्धानका लागि प्रहरीलाई पत्राचार गरेको थियो। अध्यागमन विभाग र त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयको पत्रका आधारमा अनुसन्धान प्रक्रिया अघि बढाउँदै उनीहरूलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले जानकारी दिए।

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार ती कर्मचारीहरूले प्रस्थान अनुमति नै दिन नमिल्ने एक भारतीय नागरिकलाई दुई वटा विमान कम्पनीको बोर्डिङ पास उपलब्ध गराएर काउन्टर सेटिङ गरेका थिए। सुरुमा ती यात्रुलाई इन्डीगो एयरलाइन्सको भारत जाने बोर्डिङ पास दिइएको थियो।

सुरक्षा जाँच (सिक्युरिटी चेक) पार गरेपछि अध्यागमनको आँखा छल्न उनलाई पुनः फ्लाई दुबईको दुबई जाने बोर्डिङ पास दिइएको भेटिएको छ। विमानस्थलको सिसिटिभी फुटेजमा समेत सुरक्षा जाँच पार गरेपछि ती भारतीय नागरिकसँग सुमित्राले इन्डीगो एयरलाइन्सको बोर्डिङ पास फिर्ता लिएको देखिएको अध्यागमन विभाग स्रोतले जनाएको छ।

नियमअनुसार नेपालको बाटो हुँदै तेस्रो मुलुक जानुपरेमा भारतीय नागरिकले अनिवार्य रूपमा नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) पेस गर्नुपर्छ। तर, बिना एनओसी सेटिङका आधारमा ती भारतीय नागरिक जेठ ३ गते नै दुबई उडेको अध्यागमनको रेकर्डमा फेला परेको छ। पक्राउ परेका दुवै आरोपीमाथि प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।

You may also like

This will close in 0 seconds