मुस्ताङस्थित मुक्तिनाथ मन्दिर दर्शन गर्न आएका १३ पर्यटकको चालु आर्थिक वर्षको जेठ १५ गतेसम्म लेक (हाइअल्टिच्युड सिकनेस) लागेर मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार मृतकमध्ये चार नेपाली र नौ विदेशी नागरिक रहेका छन्। उनीहरूलाई उच्च हिमाली क्षेत्रमा अक्सिजनको कमीका कारण स्वास्थ्य समस्या देखिएपछि उपचारका क्रममा ज्यान गएको हो।
लेक लाग्ने जोखिम कम गर्न अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना , स्थानीय तह, स्वास्थ्य कार्यालय तथा अन्य सरोकारवाला निकायले सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएका छन्। मुक्तिनाथ क्षेत्रमा हाइअल्टिच्युड ट्रिटमेन्ट सेन्टर, अक्सिजन सिलिन्डर तथा आवश्यक औषधिको समेत व्यवस्था गरिएको छ।
स्वास्थ्यकर्मीहरूले उच्च हिमाली क्षेत्रमा यात्रा गर्दा पर्याप्त विश्राम गर्दै बिस्तारै उचाइ बढाउन र स्वास्थ्य सावधानी अपनाउन आग्रह गरेका छन्।


