बुटवल । युवा क्रिकेट खेलाडीहरूको प्रतिभा प्रस्फुटन गर्ने र व्यावसायिक वातावरणमा प्रतिस्पर्धात्मक खेलको अनुभव प्रदान गर्ने उद्देश्यका साथ बुटवलमा १४ वर्ष मुनिको क्रिकेट लिग हुने भएको छ ।
बुटवल क्रिकेट एकेडेमीको आयोजनामा जेठ १५ गतेदेखि जेठ १८ गतेसम्म “बुटवल क्रिकेट एकेडेमी लिग–२” हुने भएको हो । एक्स्ट्रा टेक ओभल इन्टरनेशनल क्रिकेट स्टेडियममा आयोजना गरिने प्रतियोगिताको सबै तयारी पूरा भएको बुधबार बुटवलमा पत्रकार सम्मेलन गरी आयोजक क्लबका सल्लाहकार निरजप्रताप खाँडले बताए ।
प्रतियोगिता टी–२० ढाँचामा खेलाइनेछ भने चार टोलीबिच कुल ७ खेल हुनेछन् । लिग चरणमा प्रत्येक टोलीले एक–अर्कासँग एक पटक प्रतिस्पर्धा गर्नेछन् । लिग चरणपछि अङ्क तालिकाको शीर्ष दुई टोली फाइनलमा प्रवेश गर्नेछन् ।
प्रतियोगितामा बुटवल वरियर्स, बुटवल टाइटन्स, रोयल च्यालेन्जर्स बुटवल र बुटवल सुपर किङ्स रहेका छन् । प्रतियोगिताको विजेता टोलीले ट्रफीसहित नगद रु २० हजार प्राप्त गर्नेछ भने उपविजेताले ट्रफीसहित रु १० हजार पुरस्कार पाउनेछन् । त्यसै गरी “म्यान अफ द सिरिज”, “बेस्ट ब्याट्सम्यान”, “बेस्ट बलर” तथा प्रत्येक खेलका “म्यान अफ द म्याच” लाई ट्रफी प्रदान गरिने छ ।
पछिल्लो समय खेलाडीहरूमा व्यावसायीकसंगै आयआर्जन हुने गरी खेल क्षेत्र अघि बढेको खेल प्रेमी मेघराज भट्टराईले बताए । ग्रास रुट खेल विकासमा क्लबको महत्त्वपूर्ण योगदान रहेको बताउँदै खेलकुद क्षेत्रको पूर्वाधार विकास, आधुनिकता र प्रविधि विकासमा जोड्न जरुरी रहेको उनले बताए । नेपालको खेलकुद क्षेत्रमा अग्रसर रहेको भए पनि आवश्यक उपलब्धिसम्म पुग्न नसकेको उनले बताए ।
खेलाडीहरूको ब्याटिङ, बलिङ, फिल्डिङ तथा नेतृत्व क्षमताको विकास गर्नुका साथै भविष्यका जिल्ला, प्रदेश तथा राष्ट्रिय स्तरका खेलाडी पहिचान गर्ने उद्देश्य रहेको क्लबका सचिव प्रथम पराजुलीले बताए । बुटवलमा ग्रास रुट क्रिकेट विकासलाई मजबुत बनाउने र युवा खेलाडीलाई खेलप्रति प्रेरित गर्ने लक्ष्य सहित एकेडेमी सञ्चालन गर्दै आएको उनले बताए ।


