बिस्कुट किन्दिन्छु भन्दै फकाएर अपहरण गरी लैजाने कोसिस

by समतल अनलाइन
43Shares

काठमाडौँ ।काठमाडौँको मनोहरामा आज बिहान माग्नेको भेष धारण गरेर एक बालिकाको अपहरण गर्ने प्रयास भएको छ । घरको आँगनमा खेलिरहेकी अवोध बालिकालाई फकाएर लैजान खोज्दा स्थानीय र प्रहरीको सक्रियताका कारण उक्त प्रयास असफल भएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईका अनुसार आज बिहान पैसा माग्ने बहानामा अन्दाजी ४० देखि ४२ वर्षका एक पुरुष ती बालिकाको घरैमा पुगेका थिए । उनले त्यहाँ खेलिरहेकी पाँच वर्षीया बालिकालाई ‘बिस्कुट किन्दिन्छु’ भन्दै फकाएर फकाएर अपहरण गरी लैजाने कोसिस गरेका थिए ।

बालिकालाई फकाएर लैजान लागेको शङ्कास्पद दृश्य देखेपछि स्थानीय बासिन्दाले तुरुन्तै प्रहरीलाई खबर गरेका थिए । स्थानीयको सूचनाका आधारमा तत्कालै परिचालन भएको प्रहरी टोलीले अपहरणको प्रयास गर्ने ती व्यक्तिलाई घटनास्थलबाटै नियन्त्रणमा लिन सफल भएको छ । पक्राउ परेका ती पुरुषले आफ्नो नाम टीकराम महाराजजी बताएका छन् ।

प्रहरीले नियन्त्रणमा लिएर गरेको प्रारम्भिक सोधपुछका क्रममा उनले आफू ललितपुरको एक सार्वजनिक पाटीमा बस्दै आएको बयान दिएका छन् ।

परिसरका एसपी भट्टराईले पक्राउ परेका व्यक्तिको हाउभाउ र व्यवहार सामान्य नरहेको उल्लेख गर्दै भने, ‘सोधपुछका क्रममा उनको मानसिक अवस्था ठिक रहेको जस्तो देखिएको छैन । हामी उनीमाथि थप अनुसन्धान र सोधपुछका क्रममा छौँ ।’

प्रहरीले ती व्यक्तिको वास्तविक पहिचान खुलाउनुका साथै घटनाको पछाडि उनको नियत के थियो वा अन्य कुनै समूहको संलग्नता छ कि छैन भन्ने विषयमा विस्तृत छानबिन अगाडि बढाएको छ ।

You may also like