पहिलो पाइलाद्वारा बुटवल बसपार्कमा गर्मीबाट राहत दिन निःशुल्क चिसो पानी वितरण

by समतल अनलाइन
56Shares

बुटवल। बढ्दो गर्मीलाई मध्यनजर गर्दै बुटवल बसपार्क क्षेत्रमा शनिबार निःशुल्क चिसो खानेपानी वितरण कार्यक्रम सम्पन्न गरिएको छ। सामाजिक संस्था पहिलो पाइला नेपाल, बुटवल शाखाको आयोजनामा भएको कार्यक्रममा यात्रु, सर्वसाधारण तथा बसपार्क क्षेत्रमा आवतजावत गर्ने नागरिकलाई चिसो खानेपानी वितरण गरिएको हो।

कार्यक्रमअन्तर्गत करिब ६०० लिटर चिसो खानेपानी वितरण गरिएको आयोजकले जनाएको छ। अत्यधिक गर्मीका कारण प्रभावित यात्रु तथा सर्वसाधारणले उक्त कार्यक्रमबाट राहत महसुस गरेका थिए।

कार्यक्रमका अध्यक्ष गौरव खनालले गर्मीयाममा यात्रु तथा सर्वसाधारणलाई सहजता प्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए। सामाजिक उत्तरदायित्वअन्तर्गत आगामी दिनमा पनि यस्ता मानवीय तथा सेवामूलक कार्यक्रमलाई निरन्तरता दिइने उनले जानकारी दिए।

कार्यक्रमका प्रमुख अतिथि सन्तोष बन्जाडेले पहिलो पाइला नेपालले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने कार्य गरिरहेको भन्दै संस्थाको प्रशंसा गरे। उनले गर्मीको समयमा खानेपानी वितरणजस्ता अभियानले मानव सेवाको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको बताए।

बुटवल बसपार्कमा आयोजित कार्यक्रममा स्थानीयवासी, यात्रु तथा स्वयंसेवकहरूको उल्लेख्य सहभागिता रहेको थियो। सहभागीहरूले यस्ता सामाजिक तथा जनहितका कार्यक्रमलाई निरन्तर सञ्चालन गर्नुपर्ने सुझाव दिएका थिए।

कार्यक्रमको सञ्चालन शाखाका सचिव सन्तोष सुनारले गरेका थिए।

You may also like