बुटवल। बिरामीलाई आवश्यक पर्ने रगत सबै नागरिकले निःशुल्क रूपमा पाउनुपर्ने माग गरिएको छ। स्वास्थ्य सेवा नागरिकको आधारभूत अधिकार भएकाले रगतजस्तो अत्यावश्यक सेवामा सबैको समान पहुँच सुनिश्चित गर्न राज्यले आवश्यक नीति तथा बजेट व्यवस्था गर्नुपर्नेमा वक्ताहरूले जोड दिएका छन्।
‘रक्तदान गरौँ, जीवन बचाऔँ’ भन्ने नारासहित नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देहीद्वारा बुटवलमा शनिबार आयोजित १३औँ वार्षिक साधारण सभा तथा दुर्लभ रक्तदाता भेलामा सहभागी वक्ताहरूले रक्तदान अभियानलाई अझ प्रभावकारी बनाउन राज्यको भूमिका आवश्यक रहेको बताएका हुन्।
कार्यक्रमको उद्घाटन गर्दै प्रतिनिधिसभा सदस्य मञ्जु भुसालले स्वास्थ्य क्षेत्रमा अझै पनि विभिन्न समस्या र चुनौतीहरू रहेको उल्लेख गर्दै तिनको समाधानका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरिन्। उनले रुपन्देहीका स्वयंसेवी रक्तदाताहरूले समाजमा पुर्याएको योगदानको प्रशंसा गर्दै स्वास्थ्य तथा रक्त व्यवस्थापनसँग सम्बन्धित विषयलाई कानुनी र नीतिगत रूपमा व्यवस्थित गर्न पहल गर्ने बताइन्।
कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देहीका अध्यक्ष कृष्ण चौहान क्षेत्रीले रगत उपलब्ध गराउँदा हाल लिइँदै आएको शुल्क धेरै नागरिकका लागि आर्थिक भार बन्दै गएको बताए। उनले केही स्थानीय तहले निःशुल्क रगत उपलब्ध गराउने व्यवस्था सुरु गरिसकेको भए पनि देशभर समान रूपमा लागू हुनुपर्ने आवश्यकता औँल्याए।
“रगतजस्तो अत्यावश्यक सेवामा सबै नागरिकको समान पहुँच हुनुपर्छ,” उनले भने, “यसका लागि संघीय सरकारले स्पष्ट नीति बनाएर प्रभावकारी कार्यान्वयन गर्नुपर्छ।”
उनले स्वयंसेवी रूपमा रक्त व्यवस्थापनमा सक्रिय संस्थाहरूलाई ब्लड बैंक सञ्चालनको अनुमति प्रदान गर्ने विषयमा सरकारले ढिलाइ गर्न नहुने सुझाव पनि दिए। यस्ता संस्थाहरूलाई प्रोत्साहन गर्न सके रक्त व्यवस्थापनलाई थप व्यवस्थित बनाउन सहयोग पुग्ने उनको भनाइ थियो।
कार्यक्रममा आम्दा अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. विनोद पराजुली, डा. राजेन्द्र बश्याल, डा. बबिता थापा तथा नेपाल रक्तसञ्चार केन्द्र बुटवलका संयोजक डा. बेनबहादुर पौडेलले स्वयंसेवी रक्तदाताहरूले समाजमा पुर्याएको योगदानको चर्चा गर्दै रक्तदान अभियानलाई अझ व्यापक बनाउन सरकारी सहयोग आवश्यक रहेको बताए।
उनीहरूले रगत अभावका कारण बिरामीले समस्या भोग्नुपर्ने अवस्था अन्त्य गर्न सबै पक्षले साझा रूपमा काम गर्नुपर्नेमा जोड दिए। साथै, रक्तदानप्रति नागरिकमा सकारात्मक सोच विकास गर्दै युवाहरूको सहभागिता बढाउनुपर्ने आवश्यकता औँल्याए।
कार्यक्रममा समाजका उपाध्यक्ष उदय भट्टराई र महासचिव प्रशन्न श्रेष्ठले आम नागरिकलाई रगतको महत्वबारे थप जानकारी गराउँदै रक्तदान अभियानलाई निरन्तर विस्तार गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरे।
यसैगरी, दुर्लभ रक्तदाता भेलामार्फत दुर्लभ समूहका रक्तदाताहरूको विवरण व्यवस्थित गर्ने, आवश्यक परेको समयमा बिरामीलाई छिटो र सहज रूपमा रगत उपलब्ध गराउने तथा समन्वयलाई प्रभावकारी बनाउने उद्देश्यका साथ विशेष योजना बनाइएको समाजका कार्यसमिति सदस्य पवन पौडेलले जानकारी दिए।
कार्यक्रममा रक्तदान अभियानमा सक्रिय व्यक्तिहरूको योगदानको समेत प्रशंसा गरिएको थियो।








