तातो हावासँगै वर्षाको सम्भावना, ६ जिल्लामा ‘लु’ को जोखिम

by समतल अनलाइन
24Shares

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव कायम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस प्रभावका कारण देशभर सामान्यदेखि पूर्ण बदलीको अवस्था रहेको छ।

महाशाखाका अनुसार आज राति कोशी प्रदेशसहित अन्य हिमाली भूभागमा सामान्य बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा तथा लुम्बिनी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ।

यता तराईका केही जिल्लामा भने तातो हावा (लु) चल्ने जोखिम रहेको छ। महाशाखाले कञ्चनपुर, कैलाली, डोटी, बर्दिया, बाँके र दाङ जिल्लामा तातो हावा चल्न सक्ने भएकाले आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ।

अत्यधिक गर्मीका कारण स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने भएकाले अत्यावश्यक कामबाहेक दिउँसोको समयमा लामो समयसम्म घाममा नबस्न, पर्याप्त पानी पिउन तथा सुरक्षित रहन महाशाखाले सुझाव दिएको छ।

You may also like