काठमाडौँ।नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले वालेन्द्र (बालेन) शाहको नेतृत्वमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को एकल सरकारले गर्ने सकारात्मक कार्यहरूमा आफ्नो दलले बिनापूर्वाग्रह सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। सामाजिक सञ्जालमार्फत एक भिडियो सन्देश जारी गर्दै शर्माले नयाँ सरकारलाई शुभकामना मात्र नदिएर जनसरोकारका मुद्दामा जबाफदेही बन्न र लोकतान्त्रिक मूल्य जोगाउन सचेत गराएका हुन्।
सरकारको सफलता केवल शुभकामनामा मात्र नभई प्रश्न, दबाब र नीतिगत गतिमा निर्भर रहने उल्लेख गर्दै शर्माले रास्वपाका सांसदहरूको भूमिकामाथि प्रश्न उठाएका छन्। उनले विगतमा कांग्रेसमा रहेका र हाल सत्तारूढ दलमा गएका सांसदहरूसँगको भेटलाई स्मरण गर्दै भनेका छन्, ‘खुलेआम प्रश्न सोध्न सक्ने साहस कांग्रेसमा रहँदासम्म मात्र हुने रहेछ, अहिले उहाँहरू मलिन स्वरमा मार्मिक जबाफ दिनुहुन्छ।’ संवैधानिक परिषद्को संरचना, अदालतमाथिको हस्तक्षेप र भ्रष्टाचार लागेका सांसदलाई संसद् जान दिने नयाँ नियमावली जस्ता गम्भीर विषयमा रास्वपा सांसदहरूले ‘मौनधारण’ गरेको भन्दै उनले कडा आलोचना गरे।
उपसभापति शर्माले सुकुम्बासी बस्ती हटाउँदा अपनाइएको तरिकाप्रति विशेष असन्तुष्टि व्यक्त गरेका छन्। विकल्प नदिई टहरा भत्काउँदा विद्यार्थीको परीक्षा प्रभावित भएको, घर भत्काउँदा एक युवकले ज्यान गुमाउनु परेको र बुद्ध पूर्णिमाको दिन गुम्बामा डोजर चलाइएको सन्दर्भ उल्लेख गर्दै उनले प्रश्न गरे, ‘मन्दिर र गुम्बामा डोजर चलाउँदा घन्टी बजाउँदै सरकारमा पुगेकाहरू किन मौन? सरोकारवालासँग समन्वय गर्ने परिपक्वता किन देखिएन?’
सुकुम्बासी समस्याको समाधान कानुनले मात्र नभई मानवीय कोणबाट पनि गरिनुपर्नेमा जोड दिँदै उनले प्रधानमन्त्री बालेनले कुनै समय स्वर दिएको गीत ‘गरिबको चमेली बोलिदिने कोही छैन’ को स्मरण गराए। शर्माले भनेका छन्, ‘लोकतन्त्र भनेको भोट हाल्नु वा जुलुस निकाल्नु मात्र होइन, माइतीघर मण्डलमा उभिएर न्याय माग्ने निमुखाको आवाज सरकारले सुन्नु र त्यसप्रति जबाफदेही बन्नु नै वास्तविक लोकतन्त्र हो।’ उनले रास्वपाका सांसदहरूलाई जनताको प्रश्नको सामना गर्न तयार रहन समेत चेतावनी दिएका छन्।



