बुटवल । नेपाल पत्रकार महासंघ रुपन्देहीको आयोजनामा बुटवलमा सम्पन्न “मिडिया मन्थन तथा राष्ट्रिय सञ्चार सम्मेलन २०८३” ले १५ बुँदे बुटवल घोषणापत्र जारी गरेको छ । सम्मेलनले प्रेस स्वतन्त्रता, श्रमजीवी पत्रकारको अधिकार, सञ्चार क्षेत्रको संरक्षण तथा प्रवर्द्धन, समानुपातिक विज्ञापन प्रणाली, सामाजिक सुरक्षा, सञ्चारमैत्री कानुन निर्माण लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराएको छ ।
घोषणापत्रमा संविधानप्रदत्त पूर्ण प्रेस स्वतन्त्रताको रक्षा, प्रवर्द्धन र कार्यान्वयनमा नेपाल पत्रकार महासंघ प्रतिबद्ध रहेको उल्लेख गरिएको छ । सम्मेलनले श्रमजीवी पत्रकार ऐन र सूचनाको हक कार्यान्वयनलाई प्रभावकारी बनाउन जोड दिँदै पत्रकारहरूको न्यूनतम पारिश्रमिक पूर्ण रूपमा लागू गर्न आग्रह गरेको छ ।
सम्मेलनले प्रदेश र स्थानीय तहले सञ्चारसम्बन्धी आवश्यक कानुन निर्माणमा ढिलाइ गरेको भन्दै सरोकारवालासँग पर्याप्त छलफल गरी सञ्चारमैत्री कानुन बनाउन माग गरेको छ ।
त्यस्तै, सरकारी विज्ञापनलाई सरकारी सञ्चारमाध्यममा मात्रै सीमित गर्ने हालको सरकारी निर्णय संविधान, खुला बजार अर्थनीति र प्रेस स्वतन्त्रताको मर्म विपरीत रहेको ठहर गर्दै उक्त निर्णय तत्काल फिर्ता लिन माग गरिएको छ । विज्ञापन वितरणलाई पारदर्शी, समानुपातिक र समावेशी बनाउन तथा निजी, सामुदायिक र सरकारी सबै सञ्चारमाध्यममा न्यायोचित रूपमा वितरण गर्न सम्मेलनले सरकारसँग माग गरेको छ ।
घोषणापत्रमा सञ्चारकर्मीको सामाजिक सुरक्षा सुनिश्चित गर्न श्रमजीवी पत्रकार ऐन संशोधन गरी सञ्चारगृहलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउनुपर्ने आवश्यकता औँल्याइएको छ । पत्रकारको पेशागत सुरक्षासँगै सञ्चार उपकरण खरिदमा सहुलियत दिन प्रदेश तथा स्थानीय सरकारलाई आग्रह गरिएको छ ।
सम्मेलनले गलत र भ्रामक सूचना फैलाउने सामाजिक सञ्जाल प्लेटफर्मलाई नियमन गर्दै व्यावसायिक सञ्चारमाध्यमलाई प्रोत्साहन गर्नुपर्ने आवश्यकता पनि औँल्याएको छ । साथै लुम्बिनी प्रदेश सरकारले गठन गरेको सञ्चार समन्वय परिषद्लाई पूर्ण रूपमा क्रियाशील बनाउन आवश्यक कानुनी व्यवस्था गर्न माग गरिएको छ ।
पत्रकारिता क्षेत्रको अध्ययन तथा अनुसन्धानका लागि बुटवलमा सञ्चार संग्रहालय स्थापना गर्ने पहल नेपाल पत्रकार महासंघ रुपन्देहीले गर्ने घोषणासमेत गरिएको छ ।
घोषणापत्रमा भूमिहीन तथा सुकुम्बासी बस्तीमा जबर्जस्ती डोजर चलाएर विस्थापित गर्ने कार्य रोक्न तथा वैकल्पिक व्यवस्था गर्न सरकारसँग माग गरिएको छ । रुपन्देहीको आर्थिक विकासका लागि निजी क्षेत्रको लगानीमैत्री वातावरण निर्माण गर्नुपर्ने, साथै लुम्बिनी, जितगढी किल्ला, मणिमुकुन्द सेन उद्यान, सिद्धबाबा मन्दिरलगायत ऐतिहासिक तथा पर्यटकीय क्षेत्रको संरक्षण र प्रवर्द्धनका लागि विशेष योजना लागू गर्न पनि सम्मेलनले माग गरेको छ ।
सम्मेलन सफल बनाउन सहयोग गर्ने लुम्बिनी प्रदेश सरकार, बुटवल उपमहानगरपालिका, पर्यटन विकास परिषद् बुटवल, बुटवल उद्योग वाणिज्य संघलगायत संस्थाप्रति सम्मेलनले आभार व्यक्त गरेको छ ।
घोषणापत्र तयारी समितिको संयोजकमा नेपाल पत्रकार महासघ रुपन्देहीका निवर्तमान अध्यक्ष, सल्लाहकार तथा केन्द्रीय सदस्य रामराज पोखरेल रहेका थिए । समितिका सदस्यहरूमा नेपाल पत्रकार महासघ, लुम्बिनी प्रदेशका अध्यक्ष शुत्रऋषि चौलागाईं, नेपाल पत्रकार महासघका सल्लाहकार विनोद परियार, सल्लाहकार भरत केसी, कविन्द्र नेपाल, भगवती पाण्डे र विष्णु पोखरेल रहेका थिए ।



