बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. ५ को आयोजनामा १८ देखि ४० वर्षसम्मका युवायुवती लक्षित ड्राइभिङ तालिम कार्यक्रमको उद्घाटन गरिएको छ। मणिग्रामस्थित देउराली ड्राइभिङ इन्स्टिच्युटमा बुधबार कार्यक्रम सञ्चालन गर्दै तालिम सुरु गरिएको हो।
कार्यक्रम वडा अध्यक्ष रमेश डुम्रेको अध्यक्षतामा सम्पन्न भएको थियो।
कार्यक्रममा बोल्दै वडा अध्यक्ष रमेश डुम्रेले युवाहरूलाई आत्मनिर्भर बनाउने उद्देश्यले यस्तो सीपमूलक तालिमको आवश्यकता रहेको बताउँदै तालिमबाट रोजगारी र स्वरोजगारको अवसर सिर्जना हुने विश्वास व्यक्त गरे।
वडा सदस्य हरि पन्थले स्वागत मन्तव्य राख्दै यस्ता सीपमूलक तालिमले युवाहरूलाई व्यवहारिक ज्ञान र रोजगारीका अवसरसँग जोड्ने बताए।
वडा सदस्य हरि पन्थले भने,आजको समय सीप बिना अघि बढ्न गाह्रो छ। नगरपालिकाले ल्याएको यो ड्राइभिङ तालिमले युवायुवतीलाई आत्मनिर्भर बन्न सहयोग पुर्याउनेछ। सिकेको सीपलाई प्रयोग गरेर आफ्नै आम्दानीको बाटो खोल्न सकिन्छ, त्यसैले सबैले यसलाई गम्भीरताका साथ लिनु आवश्यक छ।
त्यस्तै, टोल विकास संजालका संयोजक हरि प्रसाद पाण्डेयले पनि तालिम सफलताको शुभकामना व्यक्त गरेका थिए। कार्यक्रम सञ्चालन वडा सचिव हरि प्रसाद खतिवडाले गरेका थिए।
तिलोत्तमा नगरपालिका वडा नं. ५ को पहलमा सञ्चालन गरिएको उक्त तालिमले स्थानीय युवायुवतीलाई व्यावसायिक सीप प्रदान गर्दै स्वरोजगारतर्फ उन्मुख गराउने अपेक्षा गरिएको छ।



