फुटपाथ व्यवस्थापनका काम ‘व्यवसायीमैत्री’ हुनुपर्छ : अध्यक्ष अर्याल

by समतल अनलाइन
113Shares

बुटवल । बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्यालले बुटवल बजारको सौन्दर्य अभिबृद्धि गर्ने र आवागमन सहज बनाउने कुरामा प्रतिवद्धता व्यक्त गर्दै त्यसका नाममा व्यवसायीमाथि हुने ज्यादती सहन नसकिने प्रष्ट पारेका छन् ।

उनले बुटवल उपमहानगरपालिकाले बजार क्षेत्रका मुख्य सडक तथा भित्री भागका फुटपाथ र सडक पेटी व्यवस्थापन तथा सरसफाइका लागि सञ्चालन गरेको अभियानमा नगरप्रहरीबाट व्यवसायीमाथि ज्यादती भएको बताउँदै संघकै पहलमा भएको वार्ता र सम्वादले अभियानलाई सुधारको बाटोमा अगाडि बढाएको पनि दावी गरे ।

बुटवल उद्योग संघ रुपन्देही अन्तरगत गठित हार्डवेयर बस्तुगत समितिले नयाँ वर्षको अवसरमा शनिबार संघमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा क्यालेन्डर सार्वजनिक कार्यक्रममा बोल्दै अध्यक्ष अर्यालले सार्वजनिक खपतका लागि भन्दा पनि संघले परिणाम दिनेगरी काम गरिरहेको जानकारी गराए ।

अभियान सञ्चालनका क्रममा नगरप्रहरीबाट भएको ज्यादतीले व्यवसायीहरूमा त्रास सिर्जना गरेको बताउँदै उनले व्यवसायीहरूलाई सम्झाउने, बुझाउने र सहजीकरण गर्दै अघि बढ्नुपर्नेमा जोड दिए । उनले अभियानका क्रममा नगरप्रहरीले जफत गरेका मालसामान फिर्ता गर्नका लागि नगरपालिका तयार भएको बताउँदै आगामी दिनमा आवागमनमै प्रभाव पर्नेगरी विक्रिका मालबस्तु सडक पेटीमा नराख्न व्यवसायीहरुलाई आग्रह गरे ।

अध्यक्ष अर्यालले कर राजश्व र भन्सारसंग जोडिएका विषयमा व्यवसायीलाई सहजिकरण गर्नका लागि अब चाँडै कार्यक्रम गर्ने र व्यवसायीहरुलाई परामर्श र सहजिकरणकालागि आन्तरिक राजश्व कार्यालय बुटवलमा संघले व्यवसायिक परामर्श सेवा सञ्चालनको लागि पहल भईरहेको जानकारी गराए । कार्यक्रममा बोल्दै संघका पूर्वअध्यक्ष अर्जुनमान सैंजूले बुटवलको बजारलाई व्यवस्थित गराउने नाममा नगरपालिकाबाट व्यवसायीमाथि भईरहेको गतिबिधिले स्थानीय अर्थतन्त्रलाई नै खलबल गराउने काम गरेको भन्दै कडा शब्दमा विरोध गरे ।

हार्डवेयर बस्तुगत समितिका सभापति राजन पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा संघका कार्यसमिति सदस्य तथा उक्त बस्तुगत समितिका पूर्वसभापति दीपकप्रसाद चापागाई, उपसभापति धर्मेन्द्र कसौधन, सचिव रामजी नेपाल तथा व्यवसायी मिलन भारीले खस्किदै गएको बुटवलको व्यापार व्यवसाय उठाउने विषयमा र कार्यालयहरुमा छुट्टाछुट्टै हुने दर्ता तथा नविकरण प्रकृयालाई एकद्वार प्रणाली गराउन पहल गर्न आग्रह गरेका थिए ।

त्यसै अवसरमा उक्त बस्तुगत समितिले प्रकाशन गरेको २०८३ सालको क्यालेण्डर विमोचन गरिएको थियो भने क्यालेण्डरमा बिज्ञापनदातालाई सम्मान गरिएको थियो ।

You may also like