रुपन्देहीको गैडहवामा रहेको सामुदायिक वनमा काठ चोरीको आरोप: उपाध्यक्ष–कोषाध्यक्ष र कर्मचारीबीच मिलेमतोको दाबी

by समतल अनलाइन
101Shares

बुटवल । रूपन्देहीको गैडहवा गाउँपालिका–४, पोहवा स्थित मण्ठधारी बाबा सामुदायिक वन उपभोक्ता समूहमा काठ चोरी भएको आरोपसँगै आन्तरिक विवाद चर्किएको छ। समितिका पदाधिकारीहरूले बिहिबार पत्रकार सम्मेलन गर्दै उपाध्यक्ष र कोषाध्यक्ष तथा कर्मचारीको मिलेमतोमा वनमा अनियमितता र काठ चोरी भएको आरोप सार्वजनिक गरेका हुन् ।

समूहका अध्यक्ष रामनारायण चौधरीका अनुसार वन क्षेत्रमा हालै ठूलो संख्यामा ठुटा फेला परेका छन्। यी ठुटा कसरी र कहिले काटिए भन्नेबारे स्पष्ट जानकारी छैन उनले बताए ।

उनले उपाध्यक्ष रामहर्ष बरई र कोषाध्यक्ष कृष्णबहादुर चौधरी लामो समयदेखि समितिको बैठकमा अनुपस्थित रहेर व्यक्तिगत रूपमा निर्णय गर्ने गरेको आरोप लगाए । दुई वर्षभन्दा बढी समयदेखि बैठकमा नआउने तर बाहिरबाट प्रभाव पार्ने काम भइरहेको छअध्यक्ष चौधरीले भने ।

समितिले वन संरक्षण तथा व्यवस्थापनका लागि गरेका निर्णय साधारणसभाबाट पारित भए पनि कार्यान्वयनमा अवरोध गरिएको दाबी गरेको छ। नेपाल सरकारले समुदायलाई दिएको वन भए पनि समितिको निर्णयलाई बेवास्ता गरिएको गुनासो छ ।

यसैबीच वन क्षेत्रमा भेटिएका ठुटाबारे लुम्बिनी सब डिभिजन वन कार्यालय का अधिकृत दिलीप कुमार यादवले हालै काटिएको हुनसक्ने भन्दै समूहसँग स्पष्टीकरण माग गरेका छन् । तर स्थानीयले भने ठूलो संख्यामा रुख काटिँदा वन कार्यालयको निगरानी कमजोर रहेको आरोप लगाएका छन् ।

समूहका अनुसार आगलागीबाट १३६ वटा रुखमा क्षति पुगेपछि व्यवस्थापनका लागि अनुमति माग्दा पनि वन कार्यालयले स्वीकृति नदिएको र त्यसपछि समस्या झन् बढेको दाबी गरिएको छ ।

वन हेरालुका रूपमा राखिएका राजेश धोबीले वन कार्यालयकै निर्देशनअनुसार मात्र काम गर्ने बताएको भन्दै समितिले असन्तुष्टि जनाएको छ। वनको वास्तविक अवस्था हेरालुले रिपोर्ट गर्नुपर्ने हो, तर उल्टै हामीसँग स्पष्टीकरण मागिन्छ अध्यक्ष चौधरीले भने ।

समूहले वन कार्यालय र सम्बन्धित निकायको भूमिकामाथि निष्पक्ष छानबिनको माग गरेको छ। सामुदायिक वनमा देखिएको विवादले स्थानीय स्तरमा तनाव बढाएको छ ।

You may also like