म संवाद सुरु गर्छु,सबै अब मूलधारमा आउनुहुन्छ : गगन थापा

by समतल अनलाइन
74Shares

काठमाडौँ ।सर्वोच्च अदालतले नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिलाई नै आधिकारिकता दिने निर्णयसँगै पार्टीभित्रको अन्योल हटेको छ।

सर्वोच्चको आदेशपछि पार्टी सभापति गगन थापाले निर्णय स्वीकार गर्दै सबै पक्षलाई समेटेर अघि बढ्ने बताएका छन्। लामो समयदेखि अदालतमा विचाराधीन विषयका कारण देखिएको असहज अवस्था हटेको उल्लेख गर्दै उनले अब संवादलाई तीव्र बनाई असन्तुष्टलाई मूलधारमा ल्याउने प्रक्रिया अघि बढाइने बताएका छन्। उनका अनुसार संगठनलाई एकताबद्ध बनाउँदै मजबुत पार्नु अबको मुख्य प्राथमिकता हुनेछ।

सर्वोच्चको निर्णयपछि पार्टीको आगामी दिशाबारे सोधिएको प्रश्नमा सभापति थापाले, ‘अब पार्टीमा सबैलाई मिलाएर लैजान संवादलाई तीव्रता दिने’ बताएका छन्।

अदालतमा मुद्दा विचाराधीन रहँदा देखिएको असहजता समाप्त भएसँगै मूलधारमा आउन प्रतीक्षारत समूहहरूलाई समेट्ने रणनीतिमा नेतृत्व केन्द्रित हुने उनको भनाइ छ । संवादलाई थप सुदृढ बनाउँदै सबै पक्षको सहभागिता सुनिश्चित गर्ने तयारी अघि बढाइएको छ।

त्यस्तै, महामन्त्री प्रदीप पौडेलले अदालतको फैसलालाई प्रतिस्पर्धात्मक जित–हारका रूपमा नलिन आग्रह गरेका छन्। यस्तो व्याख्याले पार्टीभित्र असन्तुलन बढ्न सक्ने जनाउँदै उनले एकता कायम राख्ने जिम्मेवारी सबैको साझा भएको बताएका छन्। साथै, सम्पूर्ण नेता, कार्यकर्ता र समर्थकलाई एकै धारमा उभ्याउँदै आगामी १५औं महाधिवेशनको तयारीतर्फ अग्रसर हुनुपर्ने आवश्यकता औंल्याएका छन्।

You may also like