काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको प्रेस तथा अनुसन्धान विज्ञ पदमा पत्रकार दिपा दाहाल नियुक्त भएकी छिन्। प्रधानमन्त्रीको सल्लाहाकार र सचिवालय व्यवस्थापन कार्यविधि, २०७४ बमोजिम उक्त पदमा पत्रकार दाहाललाई शुक्रबार नियुक्त गरिएको हो।
दुई दशकभन्दा लामो समयदेखि पत्रकारिता र प्राज्ञिक क्षेत्रमा सक्रिय दाहालले शुक्रबारदेखि आफनो कार्यभार सम्हालेकी छन्। दाहालले प्रधानमन्त्री शाहको सञ्चार रणनीति, मिडिया र अनुसन्धानमा भूमिका निर्वाह गर्नेछिन्। भ्रष्टाचार नियन्त्रण, सुशासन र सामाजिक न्यायको क्षेत्रमा उनले पत्रकारिताको लामो अनुभवलाई सरकारको मुलधारमा जोड्न यो नियुक्ति गरिएको हो।
दाहालसँग रेडियो, टेलिभिजन, छापा र अनलाइन विधामा २० वर्षभन्दा बढिको व्यवसायीक पत्रकारिताको अनुभव छ। उनले पछिल्लो समय उकालो डट कममा वरिष्ठ संवाददाताको रूपमा खोज पत्रकारिता गर्दै आएकी थिइन्।
त्रिभुवन विश्वविद्यालय अन्तर्गतको पद्यमकन्या बहुमुखी क्याम्पसमा विगत सात वर्षदेखि पत्रकारिता अध्यापन गर्दै आएकी दाहालले पत्रकारिता, सञ्चार सिप र मौलिक नेतृत्व (अथेन्टिक लिडरसिप) नेतृत्वको प्रशिक्षक छिन्।




