भैरहवामा नापी कार्यालयमा बिचौलियाको काम गर्दै आएका दुई जना पक्राउ

by समतल अनलाइन
85Shares

भैरहवा। रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–६ स्थित गल्लामण्डी क्षेत्रमा रहेको नापी कार्यालय भैरहवामा सेवाग्राहीको काम छिटो गराइदिने भन्दै अतिरिक्त शुल्क लिएर बिचौलियाको काम गर्दै आएका दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जारी गरेको प्रेस विज्ञप्तिअनुसार सेवाग्राहीबाट बढी रकम असुली गर्दै आएको सूचनाका आधारमा खटिएको प्रहरी टोलीले मंगलबार दुई जनालाई नियन्त्रणमा लिएको हो। उनीहरूलाई चैत २० गते नियन्त्रणमा लिएर थप अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार नियन्त्रणमा पर्नेमा रुपन्देहीको ओमसतिया गाउँपालिका–३ बस्ने ३२ वर्षीय शिव नारायण कुर्मी र रोहिणी गाउँपालिका–३ बस्ने ३० वर्षीय सुरेन्द्र मल्लाह रहेका छन्।

नापी कार्यालयमा सेवा लिन आउने नागरिकको काम छिटो गराइदिने नाममा अतिरिक्त शुल्क लिएर बिचौलियाको भूमिका निर्वाह गरिरहेको पाइएपछि उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।

यस घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी कृष्ण कुमार चन्दले जानकारी दिएका छन्।

You may also like