इनिशा विक हत्या प्रकरण : चार नाबालक पुर्पक्षका लागि बाल सुधारगृहमा

by समतल अनलाइन
58Shares

काठमाडौँ । जिल्ला अदालत सुर्खेतले इनिशा विकको बलात्कारपछि हत्या आरोपमा पक्राउ परेका चार नाबालकलाई पुर्पक्षका लागि बाल सुधारगृह पठाउन आदेश दिएको छ।

न्यायाधीश दीपक ढकालको इजलासले मंगलबार उक्त आदेश दिएको हो। बालबालिका ऐन २०७५ को दफा २४ को उपदफा २ (ख) बमोजिम उनीहरूलाई सुधारगृह पठाइएको अदालतका सूचना अधिकारी उज्वलदेव रावलले जानकारी दिएका छन्।

अदालतका अनुसार हाल उनीहरूलाई पुर्पक्षका लागि मात्र सुधारगृह पठाइएको हो भने मुद्दाको अन्तिम फैसला हुन बाँकी रहेको छ। सबै साक्षीको बयान र प्रमाणहरूको अध्ययनपछि मात्र अन्तिम निर्णय हुने जनाइएको छ।

गुर्भाकोट नगरपालिका–६, बडाखोली घर भएकी १६ वर्षीया इनिशा वीरेन्द्रनगर–१ मा परिवारसँग बस्दै आएकी थिइन्। उनी वीरेन्द्रनगर–६ स्थित उषा बालबाटिका विद्यालयमा कक्षा ११ मा अध्ययनरत थिइन्।

फागुन २३ गते बिहान ‘प्रयोगात्मक परीक्षा छ’ भन्दै घरबाट निस्किएकी इनिशा करिब ९ बजेतिर वीरेन्द्रनगर–४ स्थित सहिद पार्क नजिकको जंगलमा बेहोस अवस्थामा भेटिएकी थिइन्।

मृतकका आफन्तले इनिशामाथि बलात्कारपछि हत्या गरिएको दाबी गर्दै दोषीमाथि कडा कारबाहीको माग गर्दै आएका छन्।

You may also like