काठमाडौँ । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव कायम रहेको छ । यसका कारण बागमती, गण्डकी, कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भू–भागमा सामान्यदेखि आंशिक बदली रहेको छ भने केही स्थानमा मेघगर्जन/चट्याङसहित वर्षा र हिमपात भइरहेको छ।
आज दिउँसो हिमाली क्षेत्रमा सामान्य बदली रहने तथा पहाडी र तराई भू–भागमा आंशिक बदली रहने विभागले जनाएको छ। कोशी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा, साथै बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ।
आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू–भागमा सामान्य बदली रहनेछ भने बाँकी क्षेत्रको मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ। कोशी र गण्डकीका उच्च हिमाली स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने सम्भावना पनि विभागले औँल्याएको छ।




