पश्चिमी वायुको प्रभाव: देशभर आंशिक बदली, वर्षा र चट्याङ्गको सम्भावना

by समतल अनलाइन
88Shares

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ। यसको प्रभावका कारण देशका विभिन्न भू-भागमा आंशिकदेखि सामान्य बदली रहने तथा केही स्थानमा वर्षा, चट्याङ्ग र हिमपातको सम्भावना रहेको छ।

हाल लुम्बिनी र सुदूरपश्चिम प्रदेशसहित बाँकी प्रदेशका पहाडी भू-भागमा साधारणतया बादल लागेको छ भने अन्य भू-भागमा मौसम मुख्यतया सफा रहेको विभागले जनाएको छ। गण्डकी प्रदेशका पहाडी भू-भागका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

आज दिउँसो कोशी र मधेश प्रदेशसहित देशका पहाडी तथा हिमाली भू-भागमा साधारणतया बादल लाग्नेछ भने तराई भू-भागमा आंशिक बदली रहने अनुमान गरिएको छ। कोशी प्रदेशसहित देशका पहाडी र हिमाली भू-भागका केही स्थान तथा बाँकी भू-भागका थोरै स्थानमा मेघगर्जन, चट्याङ्ग, हावाहुरी र असिनासहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।

त्यसैगरी, आज राति कोशी प्रदेशसहित हिमाली भू-भागमा साधारणतया बदली रहने, पहाडी क्षेत्रमा आंशिक बदली हुने तथा तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू-भागका एक–दुई स्थानमा मेघगर्जनसहित हल्का वर्षा वा हिमपात हुन सक्ने सम्भावना रहेको छ।

सतर्कताका लागि पहाडी तथा हिमाली क्षेत्रमा यात्रा गर्ने, कृषिकार्य गर्ने र खुला स्थानमा बस्ने नागरिकलाई चट्याङ्ग तथा हावाहुरीबाट सावधानी अपनाउन मौसमविद्हरूले आग्रह गरेका छन्।

You may also like