29
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका प्रमुख प्रशासकीय अधिकृतविहीन स्थानीय तहमा ६३ जना उपसचिव खटाउने निर्णय गरेको छ।
मन्त्रालयका अनुसार सोमबार गरिएको निर्णयअनुसार उपसचिव वा सो सरहका कर्मचारीहरूलाई लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृत खाली रहेका स्थानीय तह तथा जिल्ला समन्वय समितिहरूमा खटाइएको हो।
खटाइएका कर्मचारीमध्ये केहीलाई सरुवा गरिएको छ भने अधिकांशलाई सम्बन्धित स्थानीय तहमा कामकाज गर्न पठाइएको मन्त्रालयले जनाएको छ।
स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको अभावका कारण सेवा प्रवाहमा समस्या देखिँदै आएको अवस्थामा मन्त्रालयले उक्त निर्णय गरेको बताइएको छ। मन्त्रालयका अनुसार यसबाट स्थानीय तहको प्रशासनिक कार्यसम्पादनमा सुधार आउने अपेक्षा गरिएको छ।




