बुटवल । आफ्नो उम्मेद्वारी फिर्ता लिएको राप्रपाले रुपन्देही क्षेत्र नं. २ मा नेपाली काँग्रेसलाई समर्थन गरेको छ । राप्रपाले सिद्धान्त र वैचारिक भिन्नता भए पनि वर्तमान राजनीतिक परिस्थितिमा आर्थिक, सामाजिक तथा समृद्धिको एजेन्डामा नेपाली काँग्रेससँग नजिक रहेकाले रुपन्देहीको क्षेत्र नं. २ मा काँग्रेस उम्मेदवारलाई चुन्नप्रसाद शर्मा पौडेललाई समर्थन गर्ने निर्णय गरिएको जनाएको छ ।
राप्रपा रुपन्देही २ का क्षेत्रीय अध्यक्ष रामबहादुर थापाद्वारा जारी विज्ञप्तिमा राजनीतिक सहमतिका आधारमा क्षेत्रीय विकास, सुशासन र स्थायित्वका पक्षमा सहकार्य गर्ने उल्लेख छ । विज्ञप्तीमा पार्टीको सिद्धान्त र वैचारिक भिन्नता भएपनि देशको आर्थिक, सामाजिक तथा समृद्धिको क्षेत्रमा एजेण्डा नजिक रहेकाले रुपन्देही २ मा नेपाली काँग्रेसका उम्मेद्वार पौडेललाई समर्थन गरिएको जनाएको छ ।
यहि फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाले उम्मेदवारी दर्ता गराए पनि प्राविधिक कारणवश उम्मेदवारी फिर्ता लिएको थियो । यद्यपि पार्टी देश र जनताप्रति उत्तरदायी भूमिकामा निरन्तर सक्रिय रहने प्रतिबद्धता दोहो¥याइएको छ ।
साथै, राप्रपाले आफ्ना पार्टी पंक्ति र समर्थक मतदातालाई प्रत्यक्षतर्फ नेपाली काँग्रेसका उम्मेदवार चुन्नप्रसाद शर्मा पौडेललाई रुख चिन्हमा मतदान गर्न तथा समानुपातिकतर्फ राप्रपाको हलो चुनाव चिन्हमा मतदान गर्न आग्रह गरेको छ । २०७९ सालमा भएको निर्वाचनमा राप्रपाले समानुपातिक तर्फ ५ हजार ६ सय मत प्राप्त गरेको थियो । मतदाताको साथ र समर्थनले उत्साहित बनेको नेपाली काँग्रेसलाई राप्रपाले गरेको समर्थनले आफ्नो उम्मेदवारको जीत सुनिश्चित भएको काँग्रेसका क्षेत्रीय सभापति प्रजापाल गिरीले बताए ।



