काठमाडौं ।मध्यपूर्व इरान र इजरायलमा विकसित युद्ध र तनावप्रति गहिरो चिन्ता व्यक्त गर्दै नेपालका शीर्ष नेताहरुले तहाँ कार्यरत नेपालीको सुरक्षाबारे चिन्ता व्यक्त गरेका छन् ।
नेपाली कांग्रेसका सभापति गगनकुमार थापा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गहिरो चिन्ता व्यक्त गर्दै नेपालीको सुरक्षा प्रमुख प्राथमिकता रहेको बताएका हुन् ।
कांग्रेस सभापति थापाले शनिबार फेसबुकमार्फत घटनाले आफूलाई चिन्तित बनाएको बताए। उनले लेखे, ‘विभिन्न देशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीको सुरक्षा झन् संवेदनशील बनेको छ। सुरक्षित स्थानमै रहन र सुरक्षा नियमको पूर्ण पालना गर्न सम्पूर्ण नेपालीमा अनुरोध गर्दछु।’ थापाले सरकार, परराष्ट्र मन्त्रालय र सम्बन्धित नेपाली दूतावासलाई तत्काल प्रभावकारी कदम चाल्न पनि आग्रह गरेका छन्।
पूर्व प्रधानमन्त्री समेत रहेका केपी ओल’ले मध्यपूर्वको तनाव (इजरायल–इरान युद्ध)ले चिन्तित तुल्याएको बताए। उनले फेसबुकमा लेखेका छन्, ‘त्यहाँ रहेका नेपालीहरू सुरक्षित र सजग रहनुहोस्। दूतावास र नेपाल सरकारलाई नेपाली नागरिकको सुरक्षामा अविलम्ब परिचालित हुन अनुरोध गर्दछु।’
त्यसैगरी, प्रचण्डले पनि घटनाप्रति गहिरो चिन्ता व्यक्त गर्दै लाखौँ नेपालीको सुरक्षा सुनिश्चित गर्न सरकारसँग उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् । उनले लेखेका छन्, ‘मध्यपूर्वमा अमेरिकी र इजरायली आक्रमणपछि बढेको तनावमा नेपालीको सुरक्षाको प्राथमिकता सर्वोपरि हो। कुनै पनि नेपाली नागरिकलाई जोखिममा नपार्ने प्रभावकारी व्यवस्था आवश्यक छ।’
शनिबार बिहानै इजरायल–अमेरिकाले इरानमाथि आक्रमण सुरु गरेपछि इरानले खाडी क्षेत्रका अमेरिकी सैन्य बेसक्याम्पलक्षित आक्रमण गरेको थियो । यस घटनाले मध्यपूर्वमा क्षेत्रीय युद्धको खतरा बढाएको छ । नेपाल सरकारले खाडी मुलुक यात्रा नगर्न ‘ट्राभल एडभाइजरी’ समेत जारी गरेको छ।



