बुटवलमा तरुण भेला,उत्साहपूर्ण सहभागिताले विजय सुनिश्चित

by समतल अनलाइन
63Shares

बुटवल।नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलको आयोजनामा बुटवलमा बृहत् तरुण भेला सम्पन्न भएको छ। चुनाव नजिकिँदै गर्दा आयोजित भेलाले संगठनात्मक एकता, युवा सक्रियता र चुनावी रणनीतिलाई थप सुदृढ बनाउने उद्धेश्य लिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि पूर्व गृहमन्त्री तथा नेपाली कांग्रेसका प्रभावशाली नेता बालकृष्ण खाणले राष्ट्रियता, संविधान र प्रजातन्त्रमाथि चुनौती बढिरहेको उल्लेख गर्दै नेपाली कांग्रेसको रक्षा गर्नु सबैको पहिलो दायित्व भएको बताए । उनले नेपाल तरुण दल शान्तिप्रिय संगठन भएको स्पष्ट पार्दै भन्नुभयो, “तरुण दल हिंसा गर्दैन, आतंक मच्चाउँदैन तर पार्टी र तरुण साथीहरूको सुरक्षाका लागि आवश्यक पर्दा एकजुट भएर उभिन्छ । इतिहास साक्षी छ हरेक संघर्षमा तरुण सहभागी हुँदा विजय सुनिश्चित भएको छ।”

उनले आसन्न निर्वाचनलाई लोकतन्त्रको रक्षा गर्ने विशेष अवसरका रूपमा व्याख्या गर्दै रुख चिन्हमा मतदान गर्न सबैलाई अपिल गरे। “हाम्रो संकल्प स्पष्ट छ—नेपाली कांग्रेसका उम्मेदवारलाई जिताउनै पर्छ। हरेक तरुण आफैँ उम्मेदवार सरह हो, त्यसैले जित सुनिश्चित गर्ने जिम्मेवारी पनि आफ्नै काँधमा लिनुपर्छ ।

भेलामा नेपाली कांग्रेसका तर्फबाट रुपन्देही क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार चुन्नप्रसाद शर्मा पौडेलले युवाशक्ति परिवर्तनको आधार भएको उल्लेख गर्दै सदैव युवाको पक्षमा दृढतापूर्वक उभिने प्रतिबद्धता जनाउनुभयो। उहाँले अहिले पार्टी युवा नेतृत्वतर्फ अग्रसर भइरहेका बेला यो निर्वाचनलाई विशेष पर्वका रूपमा लिन आग्रह गर्नुभयो। “युवा केवल मतदाता होइनन्, अब निर्णायक शक्ति हुन्। संगठन सुदृढ बनाउन र विजयी बनाउन तरुणको भूमिका निर्णायक रहन्छ,”उनले भने ।

सो भेलामा कांग्रेस केन्द्रीय सदस्य रामबहादुर कार्की तथा समानुपातिक उम्मेदवार रिता सेन ओली,लुम्बिनी प्रदेशसभा सदस्य जमुना ढकाल, जिल्ला सभापति रामकृष्ण खाण, क्षेत्रीय सभापति प्रजापाल गिरी,बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डे लगायतले मन्तव्य राख्दै संगठनको एकता, अनुशासन र सक्रियतामार्फत निर्वाचनमा विजय हासिल गर्न आह्वान गरे । कार्यक्रम तरुण दल क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति हसन्त लामाको सभापतित्वमा सम्पन्न भएको थियो भने सञ्चालन तरुण दल बुटवल उपमहानगरपालिकाका नगर सभापति सुजन पुनले गरेका थिए । भेलाले चुनावी माहोललाई थप ऊर्जा दिँदै युवाशक्तिलाई संगठित र सक्रिय बनाउने स्पष्ट सन्देश दिएको छ ।भेलामा क्षेत्र न २ का करिब २ हजार तरुणहरुको सहभागिता रहेको थियो ।

You may also like