सैनामैना–३ मा प्रचारप्रसार कार्यालयबाट घोषणा पत्र सार्वजनिक, चुन्न प्रसाद पौडेलद्वारा २२ बुँदे प्रतिबद्धता (पुर्णपाठ)

by समतल अनलाइन
81Shares

बुटवल।रुपन्देही निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार चुन्न प्रसाद पौडेलले सैनामैना नगरपालिका–३ स्थित आफ्नो प्रचारप्रसार सम्पर्क कार्यालयबाट घोषणा पत्र सार्वजनिक गरेका छन्।

फागुन २१ गते हुने आम निर्वाचनलाई लक्षित गर्दै आयोजित कार्यक्रममा उनले शिक्षा, स्वास्थ्य, रोजगारी, कृषि, पूर्वाधार विकास र सामाजिक सुरक्षालाई केन्द्रमा राखेर २२ बुँदे प्रतिबद्धता सार्वजनिक गरेका हुन्।

कार्यक्रममा बोल्दै उम्मेदवार पौडेलले आफ्नो घोषणा पत्र केवल कागजी प्रतिबद्धता नभई व्यवहारमा उतार्ने कार्ययोजना भएको बताए। उनले लोकतान्त्रिक मूल्य, आदर्श र जनताको सुखद जीवन सुनिश्चित गर्न आफू प्रतिबद्ध रहेको उल्लेख गर्दै विगतका कमी कमजोरीप्रति आत्मसमिक्षा गरेका छन्।

घोषणा पत्र सार्वजनिक कार्यक्रममा युवराज गिरी संयोजक र लुम्बिनी प्रदेश सदस्य चित्रबहादुर केसीले पनि सम्बोधन गरेका थिए। युवराज गिरीले घोषणा पत्र तयार पार्दा स्थानीय जनताको सुझाव, आवश्यकता र क्षेत्रको यथार्थ अवस्थालाई आधार बनाइएको जानकारी दिए भने चित्रबहादुर केसीले संघ, प्रदेश र स्थानीय सरकारबीच समन्वय गर्दै विकासका योजनाहरू अघि बढाइने उल्लेख गर्दै उम्मेदवार पौडेललाई विजयी गराउन मतदातासँग आग्रह गरे।
कार्यक्रममा नेपाली कांग्रेसकी समानुपातिक उम्मेदवार रिता सेन ओली, नेपाली कांग्रेस रुपन्देही क्षेत्र नं. २ का क्षेत्रीय सभापति प्रजापाल गिरी, पार्टीका नेता–कार्यकर्ता तथा स्थानीयबासीहरूको उल्लेख्य उपस्थिति रहेको थियो। सहभागी नेताहरूले घरदैलो मार्फत मतदातासँग प्रत्यक्ष भेटघाट र संवादलाई निरन्तरता दिइने बताए।

शिक्षा र स्वास्थ्यमा प्राथमिकता:

पौडेलले सरकारी विद्यालयको स्तरोन्नति गरी कक्षा १२ सम्म अंग्रेजी र नेपाली माध्यमबाट निःशुल्क शिक्षा उपलब्ध गराउने वातावरण बनाउने प्रतिबद्धता जनाए। ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य परीक्षण गराउने तथा स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत पाँच लाख रुपैयाँसम्मको उपचार सरकारी, संस्थागत र निजी अस्पतालमा उपलब्ध गराउने योजना उनले सार्वजनिक गरे।
क्षेत्र नं. २ का सरकारी अस्पतालहरूको स्तर वृद्धि गरिने र कुनै पनि नागरिक उपचारको अभावमा ज्यान गुम्न नपरोस् भन्ने सुनिश्चित गर्ने उनको भनाइ थियो।

भूमिहीन, सुकुम्बासी र पूर्वाधार:

अव्यवस्थित बसोबास तथा सुकुम्बासी समस्या समाधान गर्दै दुई वर्षभित्र क्षेत्रका भूमिहीन नागरिकलाई जग्गा व्यवस्थापन गरिने उनले बताए। बस्तीबीचबाट गुज्रिएको हाईटेन्सन लाइन हटाउन पहल गरिने, शुद्ध खानेपानीको व्यवस्था मिलाइने र पूर्व–पश्चिम राजमार्ग विस्तारका कारण उत्पन्न डुबान समस्या समाधान गरिने योजना पनि घोषणा पत्रमा समेटिएको छ।
बुटवल बजार क्षेत्रमा सवारी साधनको व्यवस्थित र सुरक्षित पार्किङ व्यवस्था मिलाउने तथा राष्ट्रिय स्तरको खेल मैदान निर्माण गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे।

कृषि, रोजगारी र डिजिटल प्रविधि :

कृषिलाई उत्पादनमुखी बनाउँदै किसानलाई मल–बिउ सहज उपलब्ध गराउन पहल गर्ने, तिलोत्तमा र सैनामैना क्षेत्रमा सिंचाइ सुविधा विस्तार गरी उत्पादन वृद्धि गर्ने योजना उनले अघि सारे।
बेरोजगार युवा–युवतीलाई लक्षित गरी उद्योग स्थापना गर्ने, ‘एक घर एक रोजगार’ अवधारणा लागू गर्ने तथा युवालाई डिजिटल प्रविधिमा दक्ष बनाउने कार्यक्रम पनि सार्वजनिक गरियो। प्रत्येक चोक–चोकमा डिजिटल फ्री वाइफाइ र सिसी क्यामेरा जडान गरिने तथा आवश्यक स्थानमा चार्जिङ स्टेशन स्थापना गरिने प्रतिबद्धता उनले व्यक्त गरे।

वातावरण संरक्षण र नदी करिडोर :

सडकमा छाडा चौपायाका कारण हुने दुर्घटना न्यूनीकरण गर्न गोशाला तथा चिडियाघर निर्माण गर्ने, कृषिका लागि मल तथा औषधि उत्पादन गर्ने योजना उनले सुनाए।

तिनाउ र दानव नदी किनारलाई व्यवस्थित गर्दै हराभरा, स्वच्छ र सुन्दर करिडोर निर्माण गरिने तथा बुटवलबाट बगेर आउने फोहोर नियन्त्रणका लागि योगिकुटी पुल क्षेत्रमा हाइड्रोलिक जाली राखिने प्रतिबद्धता पनि उनले जनाए।

सामाजिक सुरक्षा र पारदर्शिता :

नेपालबाट पेन्सनमा निस्किएका राष्ट्रसेवक कर्मचारी र उनका परिवारलाई वृद्धभत्ता उपलब्ध गराउन पहल गर्ने, उद्योग–व्यवसायमा लगानी वृद्धि र दोहोरो कर प्रणाली हटाउन कानुनी प्रवन्ध सुदृढ गर्ने उनले बताए।
निर्वाचित भएमा प्रतिनिधि सभा सदस्यका रूपमा प्राप्त हुने सेवा–सुविधाको सम्पूर्ण रकम क्षेत्रका नागरिकको स्वास्थ्य उपचारमा खर्च गर्ने घोषणा पनि उनले गरेका छन्।

पुर्ण पाठ:

आदरणीय मतदाता आमाबुवा दाजुभाई तथा दिदीबहिनीहरु

यही फागुन २१ गते सम्पन्न हुन गइरहेको आम निर्वाचन हामी नेपालीहरुको लागि आफ्नो भाग्य आफैं कोर्ने पर्वका रुपमा हाम्रो घर आँगनमा प्रवेश गरिसकेको कुरा सर्व विदितै छ । यस महान कार्यमा सार्वभौम सत्ता सम्पन्न नागरिकले जाहेर गर्ने अभिमत हाम्रो सन्ततिको उज्ज्वल भविष्यका लागि मार्गदर्शक र उपलब्धिपूर्ण बन्नु पर्दछ । लामो समयदेखि जनताको प्रजातान्त्रिक मूल्य मान्यता, आदर्श र सुखद जीवन यापनको बाटो कोर्ने ऐतिहासिक पार्टी नेपाली कांग्रेस यहाँको न्यायो माया र सहयोगको छत्रछायाँमा प्रल्लवित र धनीमूत हुँदै जाँदा केही कमी, केही गल्ती र केही हेलचेक्र्याई भएकोमा क्षमा याचना गर्दछु ।
गत भाद्र २३ र २४ गते सहादत प्राप्त गर्ने हाम्रा भोलीका कर्णधार भाइबहिनी एवं छोरा छोरीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा संवेदना प्रकट गर्दछु । नेपाली कांग्रेस पार्टी र यस पार्टीको उम्मेदवारका हैसियतमा अन्य कसैका प्रति नकारात्मक टीका टिप्पणी वा प्रतिक्रिया जनाउनु भन्दा आफ्ना राम्रा कामका माध्यमबाट जनसेवामा समर्पित हुनु राम्रो भन्ने मलाई लाग्दछ । आफ्ना मतदातासँग गरिएका कबोल पुरा नगर्नु वा वेवास्ता गर्नु मेरो सोच, विचार र संस्कारमा नभएका विषय हुन् त्यसैले यस प्रतिबद्धता पत्र मार्फत उल्लेख गरिएका विषयहरु पुरा गर्न गराउन म भागीरथ प्रयत्न गर्नेछु । एउटा जनताको सेवकका हैसियतमा सदनमा आफ्नो निर्वाचन क्षेत्रका आदरणीय नागरिकहरुको चाहना, चासो र चिन्तालाई सम्बोधन गराउन निरन्तर आवाज उठाउने छु । यसरी गरी ज्ञान विज्ञान प्रविधिको उन्नयन गर्दै नयाँ नयाँ अवसरहरु सृजना गराउनु मेरो विशेष चासो र लगावको विषय हुनेछ । जसबाट हाम्रा नव युवा भाई बहिनीहरुलाई राष्ट्र निर्माणमा जोड्न सकियोस् र हाम्रा पाका उमेरका दाजु भाई दिदी बहिनीहरुलाई यस पुनीत कार्यमा सहभागी गराउन सकियोस् ।
आदरणीय मतदाता महानुभाव ज्यूहरु यहाँहरुको अमूल्य मतबाट विजयी भएको अवस्थामा हाम्रो गौरवशाली संसद भवनमा यहाँको प्रतिनिधिको रुपमा गर्व गर्ने गरी आफ्नो भूमिका निर्वाह गर्दै नियम कानुन ऐन वा विधि निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने छु भन्ने रुपन्देही जिल्ला निर्वाचन क्षेत्र नं. २ मा तपसिल अनुसारका काम गर्ने गराउने कुरामा आफ्नो अटल प्रतिबद्धता जाहेर गर्दछु ।

प्रतिबद्धता
१. सरकारी विद्यालयको स्तरोन्नत गरी सम्पूर्ण नेपालिका छोराछोरीलाई अंग्रेजी र नेपाली भाषामा कक्षा १२ सम्म निःशुल्क शिक्षा प्रदान गर्ने वातावरण बनाउने प्रतिबद्ध रहने छु ।
२. ७० वर्ष कटेका ज्येष्ठ नागरिकहरुलाई स्वास्थ्य जाँच निःशुल्क गराउने छु ।
३. अव्यवस्थित तथा सुकुम्बासी जग्गा व्यवस्थापन गरी आगामी २ वर्षमा यस क्षेत्रमा रहेका सम्पूर्ण भूमिहिनहरुलाई जग्गा प्रदान गरिने छ ।
४. रुपन्देही जिल्ला क्षेत्र नं. २ भित्र रहेका सबै सरकारी अस्पतालहरुको स्तर वृद्धि गराउदै स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत रु. ५०००००/- (अक्षरूपी पाँच लाख) सम्मको स्वास्थ्य उपचार सरकारी, संस्थागत र निजि अस्पतालमा निःशुल्क उपचार हुने व्यवस्था गर्नुका साथै स्वास्थ्य, शिक्षा, रोजगार, एवं कृषिलाई उत्पादन मुलक बनाइने छ । साथै क्षेत्र नं. २ का स्थायी बासिन्दालाई उपचारको अभावमा मर्न दिइने छैन ।
५. बस्तीको विच भागबाट नै रहेको हाईटेन्सन लाइन हटाउन पहल गर्ने छु ।
६. क्षेत्र नं. २ का सम्पूर्ण जनतालाई शुद्ध पिउने पानीको व्यवस्था गरिने छ ।
७. कृषिमा सरलीकरण गरी कृषकलाई मल बिउ निःशुल्क उपलब्ध गराउन पहल गर्ने छु ।
८. पूर्व पश्चिम राजमार्ग निर्माणका कारण उत्पन्न डुबान समस्या समाधानका लागि पहल गर्ने छु ।
९. नेपालबाट पेन्सनमा निस्किएका राष्ट्र सेवक कर्मचारी र तिनका परिवारलाई पनि बृद्ध भत्ताको उपलब्ध गराउन पहल गर्ने छु ।
१०. क्षेत्र नं. २ मा राष्ट्रिय स्तरको खेल मैदान बनाउने पहल गर्ने छु ।
११. आवश्यकताअनुसार फ्री वाइफाइसमेत चार्जिङ स्टेशनको स्थापना गराइने छ ।
१२. युवाहरुलाई डिजिटल प्रविधिमा प्रवेश गराई रोजगारयुक्त गराउन पहल गर्ने छु ।
१३. क्षेत्र नं. २ को प्रत्येक चौक चौकमा डिजिटल फ्री वाइफाइ र सिसि क्यामेरा जडान गराउन पहल गर्ने छु ।
१४. राष्ट्रको आर्थिक उन्नति र प्रगतिका लागि उद्योग व्यापार र व्यवसायिक क्षेत्रमा लगानी बढाउन एवं व्यवसाय गर्ने विश्वसनीय कानुनी प्रवन्ध सहित दोहोरो कर प्रणाली हटाउन शशक्त पहल गर्ने छु ।

१५. सडकमा रहेका छाडा चौपायाको कारणबाट दिनहुँ भैरहेका दुर्घटना कम गर्न र पशुपंक्षीको जिवन रक्षा गर्नका लागि गोशाला एवं चिडिया घर निर्माण गर्नुका साथै कृषिका लागि मल र औषधी उत्पादन गरिने छ ।
१६. बुटवल तर्फबाट बगी आउने फोहोरले तिलोत्तमा क्षेत्रको उत्पादन र सौन्दर्यमा हास आएको हुँदा योगिकुटी पुलको मुखमा हाइड्रोलिक जाली राखी यस क्षेत्रको सौन्दर्यलाई बढाउने काम गरिने छ ।
१७. तिलोत्तमा तथा सैनामैना भित्र प्रशस्त कृषि योग्य जमिन रहेकोले उक्त जग्गामा सिचाई व्यवस्था गरी खेती उब्जनीमा बढवा दिई कृषकको जीवन स्तर उकास्ने कदम चालिने छ ।
१८. हाम्रा बेरोजगार युवा युवतीहरुलाई लक्षित गरी यस क्षेत्रमा उद्योगहरु खोलिने छन् र १ घर १ रोजगारको व्यवस्था गर्न उद्योगपतिहरुलाई प्रोत्साहित गरिने छ ।
१९. बुटवल बजार भित्र अव्यवस्थित रुपमा रहेको सवारी साधनलाई व्यवस्थित र सुरक्षित पार्किङ व्यवस्था मिलाइने छ ।
२०. निर्वाचन क्षेत्र नं. २ मा वरदान र समस्याको रुपमा रहेका तिनाउ तथा दानव नदी किनारलाई व्यवस्थित गर्दै, सुन्दर, स्वच्छ, सफा, हराभरा युक्त जलप्रवाह हुने गरी करिडोर निर्माण गर्ने कार्यलाई अगाडि बढाइने छ ।
२१. स्थानीय सरकार र प्रदेश सरकारसँग समन्वय र पहल गरी नागरिकका समस्याहरु समाधान गरिने छ ।
२२. प्रतिनिधि सभा सदस्य भए वापत प्राप्त हुने सेवा सुविधाको सम्पूर्ण रकम यस क्षेत्रका जनताको स्वास्थ्य उपचारमा खर्च गर्ने छु ।
अन्तमा, आर्थिक वृद्धि, तिव्र विकास, रोजगारी र सामाजिक सुरक्षा प्रत्याभूतिको लागि यही २०८२ फाल्गुण २१ गते सम्पन्न हुने निर्वाचनमा रुपन्देही जिल्ला निर्वाचन क्षेत्र नं. २ प्रतिनिधि सभा सदस्य पदको उम्मेदवार म चुन्न प्रसाद पौडेलको चुनाव चिन्ह “रुख” मा र समानुपातिक तर्फको “रुख” चिन्हमा समेत मतदान गरी विजय गराउनुहुन हार्दिक अपिल गर्दछु ।

जय नेपाल

You may also like