बंगलादेशमा आज नयाँ सरकार गठन हुदै, शपथ कार्यक्रममा १२ सय अतिथि सहभागी हुदै

by समतल अनलाइन
47Shares

काठमाडौँ । बंगलादेशमा आज नयाँ सरकार गठन हुदैछ । गत विहिबार सम्पन्न निर्वाचनमा दुई तिहाई बहुमत हासिल गरेको बंगलादेश राष्ट्रिय पार्टी (बीएनपी) ले २०९ सिट र गठबन्धनले २१२ सिटमा जित हासिल गरेको थियो ।

चुनावमा अत्याधिक बहुमत हासिल गरेपछि बीएनपीका अध्यक्ष तारिक रहमान प्रधानमन्त्री बन्दैछन् । उनको शपथग्रहण समारोह भव्य रूपमा आयोजना हुने तयारी गरिएको छ । शपथ कार्यक्रममा १२ सय स्वदेशी तथा विदेशी अतिथिहरू सहभागी हुने अपेक्षा गरिएको छ।

समारोह राजधानी ढाकास्थित संसद भवनको साउथ प्लाजामा आयोजना हुनेछ। राष्ट्रपति मोहम्मद शहाबुद्दिन ले नयाँ मन्त्रिपरिषद्का सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम रहेको छ।

करिब दुई दशकपछि बीएनपी नेतृत्वमा सरकार गठन हुन लागेको हो । अन्तरिम सरकारका कानुन सल्लाहकार आसिफ नजरुलका अनुसार आज बिहान १० बजे नवनिर्वाचित सांसदहरूको शपथ हुने र दिउँसो ४ बजे मन्त्रिपरिषद् सदस्यहरूको शपथ हुने जानकारी दिए ।

समारोहमा विभिन्न देशका उच्चस्तरीय प्रतिनिधिहरूको उपस्थिति रहने अपेक्षा गरिएको छ । तीमध्ये भुटानका प्रधानमन्त्री क्षिरिङ टोबगे, भारतको लोकसभाका सभामुख ओम बिडला, पाकिस्तानका योजनामन्त्री अहसान इकबाल, नेपालका परराष्ट्रमन्त्री बाला नन्द शर्मा, माल्दिभ्सका परराष्ट्रमन्त्री अब्दुल्ला खलील. श्रीलंकाका स्वास्थ्यमन्त्री नलिन्दा जयाटिस्सा तथा बेलायतकी इन्डो-प्यासिफिक अन्डर सेक्रेटरी सीमा मलहोत्रा सहभागी हुने बताइएको छ।

अन्तरिम सरकारका प्रमुख सल्लाहकार मुहमद युनुसलेले चीन, भारत र पाकिस्तानसहित १३ देशका सरकार प्रमुखहरूलाई निमन्त्रणा पठाएको जनाइएका छन् ।

परम्पराअनुसार शपथग्रहण समारोहमा वरिष्ठ न्यायाधीश, राजनीतिक दलका शीर्ष नेताहरू, सुरक्षा निकायका प्रमुख, कूटनीतिज्ञ तथा विशिष्ट आमन्त्रित अतिथिहरूको उल्लेखनीय उपस्थिति रहने अपेक्षा गरिएको छ।

You may also like