गुल्मी ।गुल्मीको चन्द्रकोट गाउँपालिकामा कर्मचारीहरूको सहभागितामा कर्मचारी अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ। सार्वजनिक सेवा प्रवाहलाई अझ प्रभावकारी, चुस्त र नागरिकमैत्री बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रम चन्द्रकोट गाउँपालिकाका अध्यक्ष युवराज केसीको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा गाउँपालिका उपाध्यक्ष विष्णु भण्डारी, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण प्रसाद चालिसे, प्रशासन प्रमुख अधिकारी शिव प्रसाद ज्ञवाली, वडा सचिवहरू, स्वास्थ्य शाखा प्रमुख तथा विभिन्न शाखाका कर्मचारीहरूको उपस्थिति रहेको थियो।

अन्तक्रिया कार्यक्रममा आगामी संघीय प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आचारसंहिता पालना, गाउँपालिकाले गर्ने समन्वय, तथा निर्वाचनसम्बन्धी सूचना नागरिकसम्म कसरी प्रभावकारी रूपमा सार्वजनिक गर्ने भन्ने विषयमा छलफल गरिएको थियो। निर्वाचनलाई निष्पक्ष, मर्यादित र पारदर्शी बनाउन स्थानीय तहको भूमिका महत्वपूर्ण हुने सहभागीहरूले बताएका थिए।
कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष युवराज केसीले सबै कर्मचारी एकताबद्ध भएर काम गरेमा सार्वजनिक सेवा प्रवाहलाई अझ चुस्त र दुरुस्त बनाउन सकिने बताए। उनले नागरिकका कामलाई प्राथमिकतामा राख्दै जिम्मेवारीपूर्वक सेवा दिन आग्रह गरे।
प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण प्रसाद चालिसेले निर्वाचन आचारसंहिता पालना गर्नु सबै कर्मचारीको साझा दायित्व भएको उल्लेख गर्दै पालिकाले आवश्यक समन्वय र सहजीकरण गर्ने बताए।
प्रशासन प्रमुख अधिकारी शिव प्रसाद ज्ञवालीले जनताको कामलाई अझ प्रभावकारी बनाउने उपायबारे धारणा राख्दै सेवा प्रवाहमा देखिएका चुनौती र सुधारका सम्भावनाबारे छलफल गरेका थिए।
कार्यक्रममा वसन्त रिजालले सहभागीहरूलाई स्वागत मन्तव्य व्यक्त गरेका थिए। सहभागीहरूले चन्द्रकोट गाउँपालिका सूचकांकमा उत्कृष्ट स्थानीय तहमा पर्न सफल भएको उल्लेख गर्दै यसलाई अन्य स्थानीय तहका लागि उदाहरणीय बनाउनुपर्ने धारणा राखेका थिए।



