विद्यालय कर्मचारी परिषद्को प्रदेशस्तरीय जागरण भेला सम्पन्न

by समतल अनलाइन
127Shares

बुटवल । नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिले पहिलोपटक तथा प्रदेशस्तरीय दोस्रो जागरण अभियानअन्तर्गत प्रदेशस्तरीय भेला सम्पन्न गरेको छ।

राष्ट्रिय समितिको पुस १२ गतेको निर्णयअनुसार नेतृत्व क्षमता अभिवृद्धि तथा संगठन सुदृढीकरणका कार्यक्रम सम्पन्न गरिएको हो। कार्यक्रम प्रदेश कमिटीका सचिव दुधराज चौधरीले सञ्चालन गरेका थिए भने सभापतित्व प्रदेश कमिटीका अध्यक्ष गोविन्द घर्तीले गरेका थिए।

भेलामा प्रमुख अतिथिका रूपमा राष्ट्रिय समितिका अध्यक्ष गंगाराम तिवारी, विशेष अतिथिमा महासचिव शान्तिनाथ योगी सहभागी थिए। साथै उपमहासचिव डम्बर ओली, रासस मिनेन्द्र श्रेष्ठ, दाङ जिल्ला अध्यक्ष तप्तराज शर्मा, कपिलवस्तु जिल्ला अध्यक्ष तिवारी, बर्दिया जिल्ला अध्यक्ष सुदन चौधरी, रुपन्देही जिल्ला अध्यक्ष होमप्रसाद ढकाल, बाँके जिल्ला अध्यक्ष उपेन्द्र यादव तथा स्थानीय तहस्तरीय कमिटीका अध्यक्ष तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

भेलामा स्थानीय तहस्तरीय कमिटीका निर्णय कार्यान्वयन नहुनु प्रमुख समस्या रहेको निष्कर्ष निकाल्दै संगठनलाई थप सुदृढीकरण गर्ने निर्णय गरिएको छ। लुम्बिनी प्रदेशअन्तर्गतका सम्पूर्ण कमिटी माघ मसान्तसम्म गठन गरिसक्ने निर्णय पनि गरिएको छ।

त्यसैगरी, यही माघ १७ गते मधेस प्रदेशको मलंगवामा र माघ २४ गते विराटनगरमा हुने प्रदेशस्तरीय भेलालाई थप सशक्त रूपमा अघि बढाउने निर्णय भएको छ।

हालसम्म भएका सहमतिहरू कार्यान्वयन नहुनु तथा केही स्थानीय सरकारले सेवा–सुविधा उपलब्ध नगराएको विषयमा स्थानीय तहस्तरीय कमिटीका अध्यक्षहरूले रिपोर्टिङ प्रस्तुत गरेका थिए। सो विषयमा राष्ट्रिय समितिका अध्यक्ष र महासचिवले धारणा राखेका थिए।

कार्यक्रममा ‘नेतृत्व क्षमता विकास’ शीर्षकमा अध्यक्ष गंगाराम तिवारी र ‘संगठन सुदृढीकरण’ शीर्षकमा महासचिव शान्तिनाथ योगीले प्रशिक्षणमूलक धारणा प्रस्तुत गरेका थिए।

राष्ट्रिय समितिले गरेका गतिविधिको सकारात्मक सन्देश प्रवाह गर्ने र कार्यक्रमहरूको प्रभावकारिता थप मजबुत बनाउने निर्णयसमेत गरिएको छ।

You may also like